रिब्दीकोटमा बीउ स्रोत केन्द्र सञ्चालनमा

२०७८ कार्तिक १३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा, १३ कात्तिक । पाल्पाको रिब्दीकोट गाउँपालिकाको खस्यौलीमा बीउ स्रोत केन्द्र सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण एकाइ जोन पाल्पा, रिब्दीकोट गाउँपालिका र साना किसान कृषि सहकारी सस्थाको रु ६० लाख लगानीमा बीउ स्रोत केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रमा एक घण्टामा चार टनसम्म गहुँको बीउ ग्रेडिङ गर्ने क्षमता रहेको छ । मेसिन सञ्चालनमा आएपछि यस क्षेत्रमा उत्पादित अन्नबालीको बीउका निम्ति ग्रेडिङ गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो ।

स्थानीयस्तरमा उत्पादित अन्नबालीको बीउलाई लामो समयसम्म भण्डारण गरी राख्न समस्या रहेको थियो । बीउ भण्डारमा समस्या हुँदा गुणस्तरीय बीउको समेत अभाव रहेको थियो । मेसिन सञ्चालनमा आएपछि गुणस्तरीय बीउ सहजरुपमा पाउने अध्यक्ष जिसीले बताउनुभयो । पाल्पामा उत्पादित गहुँ, मकै, फापर र कोदोलगायतका बीउ ग्रेडिङ कार्य थालिएको छ । कृषिलाई आधुनिकीकरण, यान्त्रिकीकरण गरेर कृषि पेसालाई व्यावसायिक बनाउन गाउँपालिका लागिपरेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले बताउनुभयो ।

कृषियन्त्र तथा उपकरणको माध्यमबाट कृषिमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा प्रशस्त बजेट लगानी गर्न थालेको उपाध्यक्ष खनालले बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले मेसिन सञ्चालन गर्दा किसानलाई गुणस्तरीय बीउ उत्पादनमा सुविधा हुने बताउनुभयो ।

धान, गहुँ, मकै, फापर र कोदो लगायतका बीउ ग्रेडिङ गर्न समस्या रहेको गाउँपालिकाले सो मेसिन सञ्चालनमा ल्याएपछि कृषि उत्पादनमा राम्रो हुने उहाँले बताउनुभयो । कृषि क्षेत्रमा आधुनिकीकरण गरेसँगै उत्पादनमा वृद्धि र रोजगारीका अवसर बढेको छ । पाल्पाका पालिकाले कृषि उत्पादनमा वृद्धि र युवा कृषि पेसामा आकर्षण बढाउन मिनिट्रिलर, टनेल, हातेट्र्याक्टरलगायतका सामग्री सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय