काठमाण्डौं, १९ माघ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई बधाई दिनुभएको छ । अफ्रिकी देश मौरिसससँगको मैत्रिपूर्ण खेलमा जित हासिल गरेको नेपाली टिमलाई मन्त्री अथकले बधाई दिनुभएको हो ।
दशरथ रंगशालामा मंगलबार बेलुका भएको दोस्रो मैत्रिपूर्ण खेलमा नेपालले मौरिससलाई १–० गोलले पराजित गरेको थियो । यसअघि गत शनिबार भएको पहिलो खेलमा समेत नेपाल बिजयी भएको थियो । अफ्रिकन देशसँग पहिलो पटक भएका दुबै मैत्रिपूर्ण खेल हेर्न मन्त्री अथक स्वयं रंगशालामा उपस्थित हुनुभएको थियो । रंगशालामा उपस्थित भई प्रत्यक्ष खेल हेर्नुभएका मन्त्री अथकले नेपाली खेलाडीहरुको खेलबाट आफु प्रभावित भएको प्रतिक्रिया दिनुभएको छ ।
प्रतियोगिता समयभरी निकै उत्साहित देखिनुभएका मन्त्री अथकले नेपाली खेलाडीहरुले स्तरीय खेल प्रदर्शन गरेको भन्दै खुसी समेत ब्यक्त गर्नुभएको छ । मन्त्री अथकले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको समेत प्रशंसा गर्नुभएको छ । साथै पहिलो पटक मैत्रिपूर्ण खेलकालागि नेपाल आएको मौरिससको टिमलाई मन्त्री अथकले धन्यवाद दिनुभएको छ ।