अनावश्यक वन फँडानी रोकिनुपर्नेमा जोड

२०७८ फाल्गुन १, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गण्डकी, १ फागुन । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले अनावश्यक वन फँडानी रोकिनुपर्ने बताउनुभएको छ ।

प्रजातान्त्रिक वन प्राविधक सङ्घ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले नेपालमा अनावश्यक रुपमा वन फँडानी भइरहेको र यसको संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “अनावश्यक रुपमा वन फँडानी हुँदा प्राकृतिक विपत्ति जस्ता समस्या आइरहेका छन्”, उहाँले भन्नुभयो, “हरियो वन नेपालको धन केवल नारामा मात्रै सीमित रहेको छ, यसको संरक्षणमा सबै जुट्नुपर्ने आवश्यकता छ ।” प्रदेश सरकारले वन संरक्षणसम्बन्धी ऐन निर्माण गर्ने तयारी गरिरहेको र सङ्घीय सरकारको केही झन्झटिलो नीतिनियमका कारण रोकिएको उहाँले जानकारी दिनुभयो । वनलाई विकास निर्माण र देशको समृद्धिसँग पनि जोड्नुपर्ने उल्लेख गर्दै उहाँले वन संरक्षणमा वन प्राविधिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

वनले पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले सामुदायिक वनको संरक्षणले नेपालमा पाइने दुर्लभ वन्यजन्तुमा ह्रास नआउने र अवलोकनका लागि पर्यटकको आगमन बढ्ने बताउनुभयो । वन प्राविधिकका समस्या न्यूनीकरणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री थापाले दक्ष जनशक्तिलाई नेपालमै काम गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिनुभयो । विकास विरोधी वन ऐनका कारण कतिपय काठ वनमा नै कुहिएर नाश हुने अवस्था रहेको जनाउँदै उहाँले यसलाई संशोधन गरी विकासमैत्री बनाउनुपर्ने बताउनुभयो । वनलाई संरक्षण गर्दै पुराना रूखलाई काठका रुपमा परिणत गरी विकास निर्माणमा प्रयोग गर्नुपर्ने उहाँको धारणा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय