देशलाई समाजवादसम्म लैजान एमाले प्रतिबद्ध छ : अध्यक्ष ओली

२०७८ चैत्र ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ९ चैत । नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको काँधमा विद्यमान समस्या र चुनौतीको सामनासहित देशलाई समाजवाद निर्माणसम्म लैजाने अभिभारा रहेको बताउनुभएको छ ।

आजदेखि राजधानीमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, भौगोलिक सुरक्षा र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै शान्ति सम्झौताका बाँकी कामलाई पूर्णता दिएर दिगो शान्ति स्थापना, सुशासनयुक्त विकाससहित मुलुकलाई समृद्धिमा लान कटिबद्ध हुनुपर्ने बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले यस बैठकपछि पार्टी पूर्णतः स्थानीय तहको निर्वाचनमा होमिने भएकाले त्यसको तयारीका लागि जनपरिचालन, सङ्गठनात्मक र अन्य कामका बारेमा निर्णय गर्ने जनाउनुभयो । एमाले लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति रहँदै आएको उल्लेख गर्दै उहाँले यसबारे कुनै भ्रम नपाल्न आग्रह गर्नुभयो ।

“वर्तमानको जनादेश र राष्ट्रलाई अगाडि बढाउने नीति र व्यवहारका दृष्टिले एमाले मुलुकको सबैभन्दा ठूलो पार्टी हो”, उहाँले भन्नुभयो, “यो लोकतान्त्रिक आन्दोलनको पनि सङ्गठित इतिहासको विरासत बोक्ने पार्टी हो, एकता र एकीकरणको निरन्तरताको इतिहास बोकेको मूलधारको पार्टी हो भन्न अप्ठ्यारो मानिरहनु पर्दैन ।”

स्थानीय तहको आशन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न नेकपा  ( एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको बताइएको छ । बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन, प्रदेशका अध्यक्षहरुको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत कार्यसूची छन् । बैठक बिहीबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार