१ सय १० औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रममन्त्री श्रेष्ठको सम्वोधन

२०७९ जेष्ठ २४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 काठमाडौं , २४ जेठ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १ सय १० औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन सम्वोधन गर्नुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा जारी सम्मेलनमा आज भर्चुअल सम्वोधन गर्दै मन्त्री श्रेष्ठले सवै प्रकारका बालश्रम, बाध्यात्मक श्रम, मानव बेचविखन तथा आधुनिक दासत्व पुर्ण रुपमा उन्मुलन गर्ने नेपालको प्रतिवद्धता रहेको बताउनुभयो । सवै प्रकारका बालश्रम सन् २०२५ सम्ममा उन्मुलन गर्ने लक्ष्यका साथ नेपाल सरकारले काम गरिरहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

आप्रवासन सम्वन्धि विश्वव्यापी समझदारीपत्रको भावनाअनुसार नेपालले काम गरिरहेको बताउनुहुँदै उहाँले आप्रवासी कामदारले गन्तव्य तथा सम्वद्ध मुलुकमा मानवअधिकार तथा समानताको सुनिश्चितता हुनुपर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले नेपालले कोभिड विरुद्ध खोप अभियानलाई सफलतापुर्वक अघि बढाइरहेको बताउनुभयो । महामारीका कारण परेको असर कम हुँदै जाँदा नेपालको अर्थव्यवस्था विस्तारै सुधार हुँदै जाने क्रममा रहेको तर उपभोग्य वस्तुहरुको मुल्य बढेकोले श्रमिकको जीवनस्तर तथा उद्योगहरुमा समेत यसबाट असर पुगेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

उहाँले  नेपालले रोजगारी, सामाजिक सुरक्षा तथा औधोगिक सुरक्षाको बारेमा गरिरहेको प्रयासबारे सम्मेलनलाई जानकारी गराउनुभएको थियो । नेपालले सन् २०१८ मा योगदानमा आधारित सामाजिक सुरक्षा योजना अगाडी बढाएको बताउनुहुँदै उहाँले श्रमिक तथा उनिहरुको परिवारको कामसँग सम्वन्धि जोखिम न्युनिकरण सम्वन्धमा सामाजिक सुरक्षा योजना महत्वपुर्ण कदम रहेको बताउनुभयो । सिमान्तकृत तथा बेरोजगार नागरिकहरुलाई केन्द्रमा राखी सुरु गरिएको सय दिन रोजगार दिने प्रधानमन्त्री रोजगार कार्यक्रमले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र महामारीमा रोजगारी गुमाएकाहरुलाई पनि  केही मात्रामा सहयोग पुर्याएको मन्त्री श्रेष्ठले बताउनुभयो । व्यवसायिक सीप विकास तालिम नीति तथा संरचनाहरु निर्माण गरी रोजगारका अवसरहरु उपलव्ध गराउन लागिपरेका उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा आइएलओका सदस्य रहेका विभिन्न देशका सरकार तथा राज्य प्रमुख, श्रममन्त्री, उद्यमी तथा औद्योगिक क्षेत्रका अगुवा तथा श्रमिक नेताहरुले सम्बोधन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार