आफ्नै उम्मेदवार हराउन लागि परेका गल्याङका पुर्व मेयरलाई एमालेको कारबाही

२०७९ असार ३२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कल्पना भट्टराई बस्याल

स्याङ्जा,३२ असार । स्थानीय निर्वाचनमा आफुले टिकट नपाएपछि आफ्नै उम्मेदवार हराउन लागि परेका गल्याङ नगरपालिकाका पुर्व मेयर भूपराज अधिकारीलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अनुशासनको कारबाही गरेको छ ।

एमाले जिल्ला कमिटी सदस्य समेत रहनु भएका अधिकारीले चुनावमा बिपक्षी उम्मेदवारलाइ सहयोग गरेको विभिन्न प्रमाणहरु फेला पारेपछि पटकपटक स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा अधिकारीले जवाफ नदिएपछि कारबाही गरिएको जिल्ला अध्यक्ष सुर्य प्रसाद गैरे “पारस” ले जानकारी दिनुभयो । ६ महिनाको लागि पार्टीका सबै जिम्मेवारी बाट निलम्बन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

यस अघिको स्थानीय निर्वाचनमा करिब २८ सय मतको अन्तरमा बिजय प्राप्त गर्नुभएका अधिकारीले अहिले आफुले टिकट नपाएपछि आफ्नै उम्मेदवार हराउन लागि परेको चर्चा चुनावकै समयमा चलेको थियो । एमालेको स्याङ्जा जिल्लाकाे पार्टी अध्यक्ष समेत रहनु भएका सुर्य प्रसाद गैरे पारस र नेपाली काङ्ग्रेसका जिल्ला सचीव समेत रहनु भएका गुरुप्रसाद भट्टराई बीच प्रतिस्पर्धा हुँदा नेपाली काङ्ग्रेसका उम्मेदवार गुरु प्रसाद भट्टराईले नगर प्रमुखमा बिजय प्राप्त गर्नुभएको थियो ।

नेकपा एमाले फुट्दा एकीकृत समाजवादीकाे जिल्ला सचीव बनेको चर्चा चलेका अधिकारी अन्ततः तत्कालीन सरकार जोगाउनकै लागि एमालेमै फर्किएको चर्चा चलेको थियो । आफुले टिकट नपाए एमालेको उम्मेदवार हराउने र आफू एकीकृत समाजवादी पार्टीबाट राजनैतिक यात्रा सुरु गर्ने अभिव्यक्ति दिएका अधिकारीलाई यो कारबाहीले एकीकृत समाजवादीको यात्रा तय गर्न सहज बनाएको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार