कृति भट्टराई
स्याङ्जा, २५ कार्तिक । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले स्याङ्जाको कालीगण्डकी गाउँपालिकालाई उज्यालो गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कालीगण्डकीको मिर्मी खेलमैदानमा २३ गतेदेखि सुरु भएको राष्ट्रपति रनिङ शिल्डको उद्घाटन समारोहमा बोल्दै मन्त्रि तिवारीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै मन्त्रि अर्यालले अहिलेका खेलाडीहरु भाग्यमानि रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले खेल खेल्न पारेमा आफ्नै लगानी लगाउनु पर्थ्यो तर अहिले हजुरहरु पालिकाको लगानिमा खेल्न पाउनु भएको छ, हजुरहरु एकदम भाग्यमानी हुनुहुन्छ’ उहाँले पहिलेको संस्कृति हराउदै गएको भन्दै त्यसलाई जोगाउन पर्ने धारणा समेत राख्नुभयो । पहिले पहिले बाटोमा हिँड्ने बटुवालाई दही, मही खुवाइने र अहिले भने आफ्नैले आफ्नै लाई भुले भैं गर्न थालेको मन्त्रि अर्यालको धारणा थियो । राज्यलाई दोष दिएर मात्रै देश आत्मनिर्भर बन्न नसकिने भन्दै मन्त्रि तिवारीले नागरिक स्वयम् सजक हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘पचास रुपैयाँमा १ के।जी आलु किनेर नखानु बरु घरमै जिराको झोल खानु र १ सय रुपैयाँ बचाउनु ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य निर्मला थापाले खेल क्षेत्र स्वास्थ्य रहनको लागि निकै उपयोगि हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘खेलले स्वास्थ्य राम्रो गराउन सहयोग गर्छ एवम् आय आर्जनको लागि पनि टेवा पुर्याउछ’ जनताको आवाज बुलन्द गर्नका लागि सदनमा गएको भन्दै, जनताको समस्यालाई तड्कारो रुपले राख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम थापाले थोरै आर्यस्रोत भएको पालिका भएपनि पछिल्लो समय आत्मनिर्भर बन्दै आएको तथ्यांक प्रस्तुत गर्नुभयो । अबका दिनमा पालिकाका युवा सिप बिहीन नहुने प्रतिबद्धता राख्दै, उहाँले कृषि क्षेत्रमा पनि यस पालिकाले प्रगति गर्दै गईरहेको तथ्यांक प्रस्तुत गर्नुभयो । सिजन अनुसार कृषि खेतिमा जोड दिदै आएको पालिकाले तिहारको समयमा करिब २५ लाखको फूल निर्यात गर्ने लक्ष्य राखेको बताउनु भयो। उहाँले कालीगण्डकी गाउँपालिकालाई ग्यासको चुलोमुक्त बनाउने योजना अन्तगर्त पालिका लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले २०८३ सम्म पालिकाका सबै घरवासीलाई इन्डक्सन चुलो प्रदान गर्ने लक्ष्य राखेकाछौँ, अहिलेसम्म ५०० घरदुरीलाई वितरण गरीसकेका छौँ ।’
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस कालीगण्डकी गाउँपालिकाका सभापति नरबहादुर थापाले कालीगण्डकी गाउँपालिकाले गरेका यस्ता कार्यक्रमले पालिकाभित्रका भाई बहिनीको प्रतिभामा सहयोग पुगेको धारणा राख्नुभयो । त्यस्तै नेकपा एमाले कालीगण्डकी गाउँपालिका अध्यक्ष इन्द्र थापाले स्थानिय तह भएपनि कालीगण्डकी गाउँपालिकाले राष्ट्रलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन ठुलो भूमिका खेलेको धारणा राख्नुभयो । उहाँले, गाउँपालिका विकासको लागी खेलकुद पनि चाहिने ठुलो पूर्वाधार रहेको धारणा राख्नुभयो । नेकपा माओवादी कालिगण्डकी गाउँपालिकाका अध्यक्ष ज्ञानप्रसाद भट्टराईले खेलले व्यक्तिलाई अनुशासित बनाउने धारणा राख्नुभयो भने राष्ट्रिय जनमुक्ति पार्टीका कालीगण्डकी गाउँपालिकाका सभापति बम लामिछानेले दृढ इच्छाशक्तिका साथ खेल खेल्ने हो भने आफुलाई विश्वमा चिनाउन सकिने धारणा राख्नुभयो ।
कालीगण्डकी गाउँपालिका भित्रका १३ वटा विद्यालयका ९३८ विद्यार्थीबिच स्याङ्जाको मिर्मीको खेलमैदानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगि भएको थियो । प्रतियोगिताबाट ८९ विद्यार्थी छनोट भएर स्याङजा जिल्लामा खेल खेल्न जानेछन् भने खेलको अन्तिम विवरण आउन बाँकी छ।