जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै

२०८० पुष २२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सर्लाही , २२ पुस । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । नगर अस्पताल स्तरोन्नतिको विवादमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६, का ३० वर्षीय साहको शुक्रबार घटनास्थलमै मृत्यु भएको थियो । परिवार र प्रदर्शनकारीले विभिन्न माग राखेर मृतकको शव उठाउन मानेका छैनन् ।

शनिबार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा भएको वार्तामा आन्दोलित पक्षबाट स्वास्थ्य केन्द्र ५० शय्याको बनाउन तत्कालै प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने, नगरप्रमुखले राजीनामा दिनुपर्नेलगायतका मागमा अडान राखेका थिए ।

त्यही कारण वार्ता निष्कर्षमा पुग्न सकेन । घटनाका विषयमा गृह मन्त्रालयले पनि छानबिन समिति गठन गरेको छ भने पीडित परिवारलाई दश लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । तर पीडित परिवार र प्रदर्शनकारीहरूले भने अस्पताल हस्तान्तरणकै विषयमा अडान लिएका छन् । बरहथवाका मेयर कल्पनाकुमारी कटुवालले ९ असोजमा अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेकोमा सो निर्णय कार्यान्वयन नगरेको भन्दै स्थानीय बासीले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार