रिटर्नी नेपालको महासचिवमा स्याङ्जाका भट्टराई

२०८१ बैशाख ११, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं , ११ वैशाख । स्याङ्जाको गल्याङ नगरपालिका वडा न ३ घर भएका घनश्याम भट्टराई माओवादी केन्द्रको भातृ संगठन रिटर्नी सेन्टर नेपालको प्रथम महाधिवेशनबाट महासचिवमा निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा भने मेजरकुमार राईलाई १८ मतले पछि पार्दै देवेन्द्र सम्वाहाङ्फे अध्यक्ष चुनिनुभएको हो । पाँचथरका सम्वाहाङ्फेले ४७ र उदयपुरका राईले २९ भोट पाउनुभयो।

चितवनमा आयोजित प्रथम महाधिवेशन माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले गत चैत ८ गते उद्घाटन गर्नुभएको थियो । महाधिवेशनबाट ९० सदस्यीय केन्द्रीय समिति निर्वाचित गरिएको थियो । तर पदाधिकारीमा सहमति नजुटेपछि वैशाख ८ गते (शनिबार)काठमाडौंको कोटेश्वर पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान भएको थियो।

७८ जना उपस्थित निर्वाचनबाट अध्यक्षमा सम्वाहाङ्फेसहित १७ सदस्यीय पदाधिकारी चयन भएको छ।

वरिष्ठ उपाध्यक्षमा डोरबहादुर कार्की तथा ४ जना उपाध्यक्षहरुमा भिम रोकाय (मुस्कान), कृष्णकुमार सिंह (अस्मित), चेतना श्रेंग र नविराज खान चुनिनुभएको छ।

यसैगरी महासचिवमा घनश्याम भट्टराई तथा दुई जना उपमहासचिवमा विशाल भण्डारी र निमेषकुमार ओली चयन हुनुभएको छ । एकमात्र कोषाध्यक्ष पदमा धनध्वज मल्ल ठकुरी चयन हुनुभएको छ ।

यसैगरी सातै प्रदेशबाट एक–एक जना गरी ७ सचिवहरुमध्ये चार सचिव चुनिनुभएको छ। बाँकी ३ सचिवको भने टुंगो लागेको छैन ।

कोशी प्रदेश सचिवमा राम सन्जेल, मधेश प्रदेश सचिवमा बुद्ध स्याङ्गबो लामा, लुम्बिनी प्रदेश सचिवमा दिनेश भुषाल र कर्णाली प्रदेश सचिवमा जनक परियार चुनिनुुभएको छ। बागमती, गण्डकी र सुदूरपश्चिम सचिवमा भने निर्णय हुन बाँकी छ ।

अध्यक्ष सम्वाहाङ्फले बागमती, गण्डकी र सुदूरपश्चिम सचिवबारे पछि प्रदेश कमिटीले निर्णय गर्ने बताउनुुभयो । ‘प्रदेश कमिटीले सिफारिस गर्ने र चुनाव गर्ने भन्ने हो तर बागमती, गण्डकी र सुदूरपश्चिममा सचिवका आकांक्षीहरु धेरै भएपछि प्रदेश कमिटीले सिफारिस नै गरेन,’ अध्यक्ष सम्वाहाङ्फेले भन्नुुभयो, ‘अब प्रदेशले आवश्यक निर्णय गर्छ ।’

वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई संगठित गर्ने उद्देश्यले माओवादी केन्द्रले रिटर्नी सेन्टर नेपाल संगठन बनाएको हो । यसको पहिलो राष्ट्रिय भेला २०८० साल जेठ २६ गते काठमाडौंमा भएको थियो। आफूहरुले ६० भन्दा बढी जिल्लामा संगठन विस्तार गरेको र १० महिनाको बीचमा पहिलो महाधिवेशन गरिएको अध्यक्ष सम्वाहाङ्फेले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय