काठमाडौँको वायु अझै अस्वस्थ

२०८१ बैशाख २३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, २३ वैशाख । आज फेरि काठमाडौँ वायुप्रदूषणका हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ७७ पुगेको छ ।

गत बिहीबार वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ६८ पुगेको बुधबार वायु प्रदूषण बढेर वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ)एक सय ९५ पुगेको थियो । शनिबार भने घटेर वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ८५ रहेको थियो ।

‘एयर क्वालिटी इन्डेक्स’ का अनुसार पहिलो प्रदूषित सहरका रुपमा भने भारतको दिल्ली सहर सूचीकृत भएको छ । डिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) दुई सय ४५ रहेको छ । यसैगरी तेस्रो स्थानमा चीनको बेइजिङ सहर विश्वकै तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ ।

सुक्खायामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खायामसँगै मुलुकका विभिन्न स्थानमा लागिरहेको डढेलो नियन्त्रण हुन नसक्दा काठमाडौँ उपत्यकालगायतका मुख्य सहरमा प्रदूषण बढेर वायु नै अस्वस्थ रहेको छ ।

नेपालमा फागुन, चैत, वैशाख र जेठ महिनामा वायु प्रदूषण बढ्ने गरेको भन्दै सतर्कता अपनाउन वातावरण विभागले अनुरोध गरेको छ । मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोको धुवाँका कारण वायु अस्वस्थ्य भएको भन्दै विभागले सावधानी अपनाउन आग्रह गरेको हो ।

विभागका अनुसार यस अवधिमा विशेष गरी बढ्दो तापमान, कम सापेक्षित आद्र्रता र सुक्खा मौसमजस्ता प्राकृतिक कारणबाट हुने डढेलो, मानवीय कारण जस्तै फोहर तथा कृषि अवशेष जलाउँदा तथा उद्योग कलकारखाना, सवारी साधन, भौतिक निर्माण आदिबाट निस्कने प्रदूषित धुवाँ धुलोबाट वायुप्रदूषण हुने गरेको पाइएको छ । विभागका महानिर्देशक भूपाल बराललले पछिल्लो समय बढ्दै गइरहको वन डढेलोको कारण प्रदूषण बढेको भन्दै अन्तरनिकायबीचको समन्वय बढाएर डढेलो नियन्त्रणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय