बुटवल पावर कम्पनीको आँधिखोला वितरण केन्द्रको कार्यालय गल्याङको लेखा शाखामा तालाबन्दी

२०८१ जेष्ठ २१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, २१ जेठ । विद्युत शूल्क बृद्वि विरुद्वकाे संयुक्त संघर्ष समितिले बुटवल पावर कम्पनीको आँधिखोला वितरण केन्द्रको कार्यालय गल्याङको लेखा शाखामा तालाबन्दी गरेको छ । संयुक्त संघर्ष समितिले विद्युत शुल्क बृद्वि फिर्ताको माग गर्दै सोमबार लेखा शाखामा तालाबन्दी गरिदिएको हो ।

संयुक्त संघर्ष समितिका संयोजक श्यामप्रसाद बस्यालको नेतृत्वमा कार्यालय भित्र प्रबेश गरी लेखा शाखाका कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरिएको छ । यसअघि संयुक्त संघर्ष समितिको आह्वानमा सयौंको संख्यामा उपभोक्ताहरु गल्याङबजारबाट नाराबाजी गर्दै धर्नास्थल बुटवल पावर कम्पनीको गल्याङ शाखा कार्यालयमा धर्ना दिन पुगेका थिए ।

उपभोक्ताहरुले तत्काल बृद्धि गरिएको शुल्क खारेज गर्न माग गर्दै संयुक्त संघर्ष समितिलाई आन्दोलनको स्वरुप फेरेर कडा रुपमा प्रस्तुत हुन आग्रह गरेका छन् । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त संघर्ष समितिका संयोजक श्यामप्रसाद बस्यालले लेखा शाखामा तालाबन्दी गर्नुपनि आन्दोलनको स्वरुप फेरिएको बताउनुभयो ।

उहाँले काठमाडौंमा आफुले गरिरहेको पहलका विषयमा जानकारी दिदै विद्युत नियमन आयोगमा पदाधीकारी नियुक्ती हुने क्रममा रहेको र पदाधीकारी नियुक्त हुने वित्तिकै शुल्क बृद्धिको निर्णय फिर्ता गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिने प्रतिबद्धता आएकाले हाल शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बताउनुभयो ।

संयोजक बस्यालले आफुसँगको भेटमा प्रधानमन्त्री प्रचण्ड शुल्क घटाउन गम्भीर र सकारात्मक देखिएको जानकारी दिदै असार पाँच गतेसम्म शान्तिपूर्ण आन्दोलन गर्ने बताउनुभयो । बस्यालले भन्नुभयो, ‘आन्दोलनको सम्पूर्ण जिम्मा समितिले लिन्छ, संयोजकको हैसियतले त्यसको जिम्मा मैले लिन्छु । शुल्क फिर्ता नहुँदासम्म आन्दोलन रोकिदैन ।’

कार्यक्रममा संयुक्त संघर्ष समितिका सहसंयोजक दानबहादुर थापाले आन्दोलनलाई निश्कर्षमा पु¥याउन कुनै कसर बाँकी नराखिने बताउनुभयो । रम्भा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष इश्वरी काफ्लेले शुल्क घटाउनका लागि वडाको तर्फबाट जुनसुकै कदम चाल्न तयार रहेको बताउनुभयो ।

कार्यक्रम सञ्चालन गर्नुभएका संयुक्त संघर्ष समितिका सचिव तथा गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष पूर्णबहादुर रानाभाट अर्जुनले आन्दोलन अब रोकिने अवस्थामा नरहेको भन्दै बेलैमा सोच्न बुटवल पावर कम्पनीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य टंक खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमाकला भण्डारी, राप्रपाका कमल डुम्रे, नेपाली काङ्ग्रेस महाधिबेशन प्रतिनिधि चन्द्र राना, नेकपा एमाले प्रतिनिधि भेमलाल अर्याल, गल्याङ सञ्चार प्रा.लिका अध्यक्ष सुर्य प्रसाद चापागाई, गल्याङ बहुमुखी क्याम्पसका अध्यक्ष लक्ष्मण भट्टराई लगायतले बोल्नुभएको थियो । उहाँहरुले बुटवल पावर कम्पनीले अब शुल्क घटाएर मात्रै नहुने भन्दै अहिलेसम्मको क्षतिपूर्ति दिनुपर्ने बताउनुभएको थियो ।

संयुक्त संघर्ष समितिले मंगलबार पनि बुटवल पावर कम्पनीको गल्याङमा रहेको कार्यालयमा धर्ना दिने तथा वडाहरुमा संघर्ष समिति र आन्दोलनको बारेमा जानकारी दिने जनाएको छ । मंगलबार पनि गल्याङबजारको चापाकोट चोकमा १ बजे जम्मा भएर धर्नास्थल बुटवल पावर कम्पनीको कार्यालयमा धर्ना दिने कार्यक्रमलाई जारी राखिने भएको छ ।

बुटवल पावर कम्पनी आँधीखोला वितरण केन्द्रबाट वितरित विद्युत महसुलमा युनिट खपतको आधारमा ३९ देखि ६५ प्रतिशतसम्म शूल्क बृद्धि भएपछि गल्याङका राजनीतिक दल, संघसंस्था, क्याम्पस, विद्यालय, सहकारी, संचार गृह सहितको संयुक्त संघर्ष समितिले आन्दोलन गरिरहेको छ ।

यसैवीच, बुटवल पावर कम्पनी गल्याङ शाखा प्रमुख डोल खरेलले शुल्क बृद्धि विरुद्व भैरहेको आन्दोलन र लेखा शाखामा गरिएको तालाबन्दीबारे माथिल्लो निकायलाई जानकारी गराउने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार