राहदानीको निशुल्क अनलाइन व्यवस्थाले सेवाग्राही खुसी

२०८१ भाद्र ८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युवराज पौडेल
स्याङ्जा,८ भदौ । इलाका प्रशासन कार्यालय वालिङले राहादानी प्रक्रियामा नागरिकलाई राहत दिएको छ । राहदानीको फर्म भर्दा लाग्ने शुल्क नलाग्ने भएपछि वालिङ, गल्याङ, चापाकोट लगायत सेवाक्षेत्रका सेवाग्राही खुसी देखिएका छन् ।

राहदानीका लागि सेवाग्राहीले भरिने आवेदन फर्मका लागि कार्यालय वरपरका व्यवसायीले ६०० देखि ८०० सम्म पैसा असुल्दै आइरहेका थिए । फर्म भर्ने क्रममा व्यवसायीहरूले मनपरी शुल्क लिँदा नागरिकहरू ठगिएका थिए ।

राहदानीको फर्म भर्दा एकातिर झन्झट र अर्कातिर अनावश्यक पैसा खर्च भइरहेको अवस्थामा ईलाका प्रशासन कार्यालय वालिङका तत्कालीन प्रमुख संयोग भट्टराईको नेतृत्वमा कर्मचारीहरूको टिमले यसलाई निशुल्क बनाएको थियो ।

कार्यालयमा कामको अत्यधिक चाप र कर्मचारीको अभावका बाबजुद भएका कर्मचारीको सामुहिक प्रतिबद्धताले राम्रो कामको सुरूवात भएकोमा नागरिकमा खुसी छाएको छ ।

राहदानीको निशुल्क अनलाइन फर्म सेवा लिएपछि चापाकोट ५ का पदमबहादुर थापाले भन्नुभयो,”हामी जस्ता सोझा जनता निकै ठगिएका थियौं, अहिले अनलाइनमा व्यवस्था भएपछि राहदानीको फर्ममा ठगी हुन पाएको छैन । “

गाउँबाट आएका सोझासाझा जनतालाई एउटा राहदानीको अनलाइनमा फर्म भरेको ८०० सम्म लिएर व्यापारीहरूले लुट्ने खेल गरेको नागरिकहरूले बताएका छन् ।

गल्याङ ७ का तेजबहादुर थापाले भन्नुभयो, “कार्यालयमा आएर अनलाइनको निशुल्क फर्म भर्न पाउँदा खुसी लाग्यो । अब कोही ठगिन पाउँदैन ।”

निशुल्क अनलाइन फर्मको सेवा प्रशासन कार्यालय वालिङबाट दिन थालेपछि अनलाइन फर्मका नाममा ८०० सम्म लिएर लुटधन्धा चलाएका व्यवसायीहरूको छटपटी भने शान्त भएको छैन ।

उनीहरूले अनलाइन फर्मको व्यवस्था हटाउन विभिन्न तरिकाले दबाब दिइरहेका छन् । तर इलाका प्रशासन कार्यालय भने जनताको पक्षमा गरिएको व्यवस्था नहट्ने बताइरहेको छ । व्यवसायीहरूले दुई पटकसम्म यो व्यवस्था हटाउन भनेर प्रशासनमा विज्ञप्ति दिइसकेका छन् ।

हामीले सेवाग्राही राहदानी फर्मको शुल्कमा व्यापक रूपमा सेवाग्राही ठगिएको जनगुनासो बढेपछि निशुल्क अनलाइन फर्मको व्यवस्था गरेका हौं, जनताको पक्षमा गरेको राम्रो व्यवस्था कसैले चाहेर उल्टिने कुरा हुँदैन । सेवाग्राहीहरू निकै खुसी देखिनुभएको छ । ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख सुवास पौडेलले बताउनुभयो ।

असार १८ देखि भाद्र ६ सम्म ८२९ जना सेवाग्राहीले राहदानीको लागि कार्यालयबाट निशुल्क अनलाइन सेवा लिएको कार्यालयका सूचना अधिकारी बुद्धिराम बुढाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय