गल्याङ नगरस्तरीय तीज गीत प्रतियोगिता,गौरीशंकर आमा समूह प्रथम

२०८१ भाद्र १२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

संगम भण्डारी

स्याङ्जा १२,भदौ । गल्याङ नगरपालिकाद्वारा गरिएको नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित नगरस्तरीय तीज गीत प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

उक्त तीज गीत प्रतियोगितामा ३३ वटा आमा समूहको सहभागिता भएको थियो । प्रतियोगितामा गल्याङ नगरपालिका वडा नम्बर १ को गौरीशंकर आमा समूह प्रथम भएको छ । उक्त समूहले नगद २० हजारसहित प्रमाणपत्र पाएको छ ।

गल्याङ नगरपालिका वडा नम्बर ३ तल्लो गल्याङको आँधीखोला आमा समूह दोस्रो स्थान हासिल भई १५ हजार रूपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरी गल्याङ नगरपालिका वडा नम्बर २ को राधाकृष्ण आमा समूह तेस्रो भएको छ । गल्याङ नगरपालिका वडा नम्बर ११ को फेज नम्खान महिला समूहले सान्त्वना पुरस्कार पाएको छ। तेस्रो र सान्त्वनाले कर्मश २० हजार र ५००० सहित प्रमाणपत्र पाएका छन् ।

सोही कार्यक्रमको उद्घाटनमा पूर्वमन्त्री महालक्ष्मी उपाध्याय डिनाले समाजमा बसेका हरेक नागरिकको मानसिकतामा परिवर्तन भएमात्रै संविधान कार्यान्वयन भएर अगाडि बढ्ने बताउनुभयो ।

नेपाली कांग्रेसकी सहमहामन्त्री समेत रहनुभएकी उपाध्यायले महिलाहरू चुलो चौकामा मात्रै सीमित नभई देशको विकास निर्माण कार्यमा पनि सहभागिता हुनुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा गण्डकी प्रदेश पूर्वमन्त्री सरस्वती अर्याल तिवारीले गल्याङमा यातायातलाई व्यवस्थित गर्नका लागि बसपार्क निर्माणको कामहरूमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेश सांसद महेश भट्टराईले राज्यमा रोजगार भएतापनि युवाहरू प्रदेश जाने लहरलाई यहीँ बस्ने वातावरण बनाउने समेत जनाउनुभयो ।

गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले विकास र परिवर्तनका लागि नगरका सम्पूर्ण नगरवासी सबैमा यस्ता कार्यक्रमले केही ज्ञान प्रदान गर्ने बताउनुभयो ।

सोही कार्यक्रममा गल्याङ नगरउपप्रमुख हेमा न्यौपाने तिमिल्सिनाले महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा कार्यक्रम गरेको स्पष्ट पार्नुभयो । उहाँले महिलाहरूको आवाजलाई एकमुष्ट पुग्न सहयोग हुने भएकाले यो कार्यक्रम गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस गल्याङ नगर समिति सभापति श्यामप्रसाद बस्याल, नेकपा एमालेका गल्याङ नगर कमिटि अध्यक्ष दानबहादुर थापा, नेकपा माओवादी केन्द्र गल्याङ नगर कमिटि अध्यक्ष चित्रबहादुर राना लगायतले बोल्नुभएको थियो ।

नगर उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य वडा नम्बर तीनका अध्यक्ष कृष्णप्रसाद भट्टराईले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन साधना न्यौपानेले गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय कलाकार घनश्याम रिजाल, अर्जुन गैह्रे सहित स्थानीय कलाकारहरुले पनि विभिन्न प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय