क्रान्ति अर्याल
स्याङ्जा, १८ भदौ । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड गल्याङ शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । हिन्दू नारीहरूको महान पर्व तीजको अवसर पारी मंगलबार यस संस्थाले शाखा प्रबन्धक सरू गौतम भट्टराईको अध्यक्षता तथा गल्याङ नगर उपप्रमुख हेमा न्यौपानेको प्रमुख अतिथ्यतामा गल्याङ नगरपालिका ३ फलाङमा वित्तीय साक्षरता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । हालको विषम परिस्थितिलाई मध्यनजर गरी स्थानीय जनप्रतिनिधि, प्रतिष्ठित व्यक्तिहरू, पत्रकार, संस्थामा आबद्ध सदस्यहरू तथा गैर सदस्यहरूको उपस्थितिमा दैनिक आम्दानी तथा खर्चको विश्लेषण, वित्तीय सेवा सम्बन्धी ज्ञान, कर्जा सदुपयोगता जस्ता विषयहरु समेटेर कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा गल्याङ नगर उपप्रमुख न्यौपानेले गरिबी निवारणमा बैंक तथा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिकाको बारेमा जानकारी दिँदै बचत गर्ने बानीको विकास र कर्जा सदुपयोगितामा जोड दिनुभएको थियो । सामाजिक रुपमा फैलिएको हल्लाको पछाडि नलागी सम्पूर्ण महिला दिदीबहिनीहरुलाई आफ्नो कारोबार पारदर्शी राख्न अनुरोध गर्नुभएको थियो । साथै काम गर्ने क्रममा कुनै अवरोध आए नगरपालिका साथमा रहने समेत बताउनुभयो । उक्त कार्यक्रममा केन्द्र नम्बर २५ कि केन्द्र प्रमुख पेमा अधिकारीलाई उत्कृष्ट बचतकर्ताको रुपमा पुरस्कृत गरेको थियो ।
शाखा प्रबन्धक सरु गौतम भट्टराईले कर्जा सदुपयोगिता,आम्दानी भन्दा कम खर्च गर्ने बानीको विकास गर्न, उद्यमशीलताको विकास गरी इजाजत प्राप्त संस्थाहरूबाट मात्र आर्थिक कारोबार गर्न आफ्ना सेवाग्राही महिला सदस्य दिदीबहिनीहरुलाई अनुरोध गर्नुभएको थियो । करिब ७० जना सेवाग्राही सदस्यहरूको सहभागिता रहेको उक्त कार्यक्रममा शुभकामना मन्तव्य सोही संस्थाकी कर्मचारी बिन्दु भण्डारीले दिनुभएको थियो । यस संस्थाले ७७ जिल्लामा १२४ वटा शाखाबाट आफ्नो सेवा प्रवाह गरिरहेको छ ।
वित्तीय साक्षरता तथा शुभकामना आदानप्रदान कार्यक्रमको समापन पछि सम्पूर्ण महिला सदस्यहरूलाई तीजको विशेष कार्यक्रममा दर समेत खुवाइएको थियो ।