सरकारले गम्भीरतापूर्वक नलिए आन्दोलन गर्ने चेतावनी

२०८१ कार्तिक १०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं, १० कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिपक्षी दलले उठाएका मागलाई सरकारले गम्भीरतापूर्वक नलिए आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै त्यसलाई बेवास्ता गरे सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिनुभएको हो ।

वर्तमान सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर रातको १२ बजे बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आज सय दिन पुग्दा नपुग्दै आफूहरुले गरेको आशंका सरकार आफैले पुष्टि गरेको बताउनुभयो ।

आफूहरुले खबरदारीसभा राख्ने वित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उहाले बताउनुभयो ।

उहाले माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै बरु आफूहरुले दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताउनुभयो । भ्रष्ट र जाली नेताहरुसँग लागेर माओवादीप्रति पनि आशंका उव्जेका बेला सरकार ढालेर आफूहरुलाई सच्चिन मौका दिएको उहाले बताउनुभयो ।

त्यस्तै प्रचण्डले आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै आफूलाई सच्याउन आग्रह गर्नुभयो । यो देश कांग्रेस एमालेको विर्ता नभएको उल्लेख गर्दै उहाँले संख्याको प्राविधिक बदलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने नसोच्न समेत चेतावनी दिनुभयो ।

उहाँले संसदीय समितिले कांग्रेस र एमालेका नेताहरुलाई पनि दोषी ठहर गरेकोमा उनीहरुलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको बताउनुभयो । प्रचण्डले अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने स्पष्ट पार्नुभयो ।

उहाले अव उत्पादन वृद्धि गर्दै देशभित्रै लाखौं युवाहरुलाई आत्मनिर्भर बनाउने र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध गरेर लैजाने बताउनुभयो । आफ्नो पार्टीले नेतृत्व गरेको सरकारले नेपालमै सुशासनको सवालमा ऐतिहासिक रेडर्क बनाएको उल्लेख गर्दै यसलाई कसैले मेटाउन नसक्ने समेत उहाले बताउनुभयो । प्रचण्डले जनताको हकअधिकारका लागि निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय