त्रिभुवन आदर्श क्याम्पसमा नवनियुक्त क्याम्पस प्रमुख अर्यालको पदस्थापना

२०८१ कार्तिक २८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल

स्याङ्जा ,२८ कार्तिक। स्याङ्जाको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नवनियुक्त क्याम्पस प्रमुखको पदस्थापना सम्पन्न भएको छ । कार्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले अर्जुनबन्धु अर्याललाई क्याम्पस प्रमुख नियुक्त गरेको थियो ।

पदस्थापना तथा जिम्मेवारी ग्रहण कार्यक्रममा बोल्दै नवनियुक्त क्याम्पस प्रमुखले सबैको साथ र सहयोगबाट सबैको अपनत्व हुने गरी क्याम्पसको  वृद्धिमा लाग्ने बताउनुभयो । उहाँले क्याम्पसलाई सबै वर्ग र समुदायका विद्यार्थीको आकर्षणको केन्द्र बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने सामुदायिक क्याम्पसको रुपमा विकास गर्ने कुरामा आफू सम्पूर्ण रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य पृथ्वीप्रसाद पोख्रेलले आंशिक प्राध्यापकको सेवा सुविधा र हकहितका विषयमा आफूले पहल गर्ने बताउनुभयो । निवर्तमान क्याम्पस प्रमुख बाबुकुमार सिग्देलले सीमित श्रोत र साधनका बाबजुद आफूले क्याम्पसको प्रगतिका लागि क्षमताले भ्याएसम्मको गरेको र आफ्ना अधुरा योजनाहरु नवनियुक्त क्याम्पस प्रमुखको नेतृत्वमा पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।

स्ववियु सभापति सविन रेग्मीले विद्यार्थीको गुणस्तरीय शिक्षा पाउने विषयमा सबै सचेत हुनुपर्ने बताउँदै क्याम्पस भौतिक रुपले सम्पन्न हुँदै गएको र क्याम्पसमा विद्यार्थीको आकर्षण पनि बढ्दै गएको बताउनुभयो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य सु।कृष्णबहादुर प्रधान, उपप्राध्यापक कृष्ण लामिछाने, त्रिभुवन विश्वविद्यालय प्रजातान्त्रिक कर्मचारी संघ स्याङ्जाका अध्यक्ष फणिन्द्र पौडेल लगायतले बोल्नुभएको थियो । प्राध्यापक सङ्घका सभापति शङ्करप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख प्रमोद पंज्ञानीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय