युवराज पौडेल
स्याङ्जा ,३ मंसिर । स्याङ्जा जिल्लाका सबैजसो पालिकाहरुमा स्थानीय पाठ्यपुस्तक बनिसक्दा पुतलीबजारमा भने अहिलेसम्म स्थानीय पाठ्यपुस्तक बनेको छैन । स्थानीय पाठ्यपुस्तक नबन्दा शिक्षकहरु भने अलमलमा परेका छन् ।
स्याङ्जा जिल्लामा सबैभन्दा पहिले पाठ्यक्रम पाठ्यपुस्तक निर्माण गरी त्यसको कार्यान्वयन गर्ने स्थानीय तह भीरकोट हो । भीरकोटले सबैभन्दा पहिले पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरी पाठ्यपुस्तकको परिमार्जन पनि गरिसकेको छ । त्यस्तै फेदीखोला, बिरुवा र अर्जुनचौपारी गाउँपालिकाले पनि पाठ्यपुस्तक बनाई त्यसको प्रभावकारी कार्यान्वयन गरिरहेका बेला पुतलीबजार भने अलमलमै छ । यस विषयमा नगरपालिका प्रमुखसँग कुरा गर्दा बजेट छैन भन्ने उत्तर आउने गरेको छ ।
बिरुवा गाउँपालिका र आँधीखोला गाउँपालिकाले पनि स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेका छन् । त्यस्तै वालिङ र गल्याङ नगरपालिकाले पाठ्यपुस्तक निर्माण गरी कार्यान्वयन गरिरहेका छन् । तर पुतलीबजारले भने बल्ल बल्ल एक थान पाठ्यक्रम निर्माण गरेको छ तर पाठ्यक्रमको प्रबोधीकरण गरी शिक्षकलाई यस विषयमा तालिम दिने काम गरिएको पाइँदैन । शिक्षकहरुले पाठ्यपुस्तक नभएर शिक्षणमा कठिनाइ भएको गुनासो व्यक्त गरे पनि पालिका यसतर्फ जिम्मेवार बनेको देखिँदैन ।
हाम्रो जस्तो पाठ्पुस्तकमा आधारित शिक्षण गर्ने परम्परा भएको सिकाइ प्रणालीमा पाठ्यक्रममा आधारित शिक्षण अझै कठिनाइको विषय बनेको छ । पाठ्यक्रमका बारेमा सरोकारवालाहरुलाई राखेर छलफल गर्ने, छलफलबाट आएका सुझावहरु समेटेर व्यवस्थित ढङ्गले पाठ्यक्रम पाठ्यपुस्तक बनाउने काम गर्नुपर्नेमा पुतलीबजार यस विषयमा झारा टार्ने हिसाबले अगाडि बढ्दा पालिकाभित्रका शिक्षकहरु अलमलमा परेका छन् । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार कक्षा १ देखि ८ सम्म स्थानीय विषय वा मातृभाषा पढाउनुपर्ने हुन्छ तर पालिकाको फितलो प्रशासनका कारण पालिकाभित्रका कतिपय निजी विद्यालयले स्थानीय विषयका सट्टा कम्प्युटर विषय पढाइरहेका छन् ।
निवर्तमान नगर प्रमुख सीमा कुमारी क्षेत्रीकाे कार्यकालमा बनेको कक्षा १ देखि ३ को स्थानीय पाठ्यपुस्तक खारेज गरिएको छ भने नयाँ पाठ्यपुस्तक बनाउने कुरामा पालिका अनिच्छुक देखिएको छ । गत वर्ष बनाएको पाठ्यक्रमका सम्बन्धमा हालसम्म शिक्षकलाई व्यवस्थित किसिमले तालिम पनि दिइएको छैन । शिक्षकहरुले स्थानीय विषय पढाउँदा चित्रकला हेन्डराइटिङ वा यस्तै अन्य क्रियाकलापहरु सिकाएर बसिरहेको देखिन्छ । स्थानीय पाठ्यक्रम कार्यान्वयनका समस्याहरुका विषयमा शिक्षकहरुसँग पालिकाले अन्तर्क्रिया वा छलफल समेत गरेको पाइँदैन ।