पूजा खड्का
स्याङ्जा, ४ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय निर्देशन तथा परिपत्र अनुसार सोमबार स्याङ्जामा जनसमुदायमा भएका गतिविधि सहितको सय दिने अभियान कार्यक्रम जनप्रतिनिधि तथा कांग्रेस आस्थावानहरुको सहभागितामा सम्पन्न भएको छ। कार्यक्रम नेपाली कांग्रेसका उपसभापति तथा पूर्व मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो।
पूर्वमन्त्री तथा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले संविधान संसोधन आवश्यक रहेको र संसोधनको प्रक्रिया अघि बढेको विषय बारे जानकारी गराउनुभएको थियो।
त्यसै गरी पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सहकारी काण्डको विषयमा कुरा उठाउँदै नेपाली कांग्रेसले राखेको केन्द्रीय निर्देशन र परिपत्र अनुसार सय दिने अभियानमा लक्ष्य केन्द्रित हुने गरी प्रभाबकारी ढंगबाट अघि बढ्न निर्देशन गर्नुभयो। त्यसै गरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ्गले पार्टीले राखेको सय दिने अभियान को औचित्यता माथि जानकारी गराउनुभएको थियो।
नेपाली कांग्रेस स्याङ्जाका सभापति तथा संविधान सभा सदस्य सांसद राजु थापाको अध्यक्षतामा सुरुवात भएको कार्यक्रम पार्टी उपसभापति केदार काफ्लेले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा केन्द्रीय निर्देशन अनुसारको परिपत्र प्रस्तुत र स्याङ्जाको सांगठनिक विषयको बारेमा जिल्ला सचिव दामोदर लम्सालले जानकारी गराउनुभएको थियो। वक्ताहरुमा प्रदेश सांसद सरस्वती तिवारी, कल्पना तिवारी, गण्डकी प्रदेशका पार्टी उपसभापति मेंखलाल श्रेष्ठ प्रदेश सांसद महेश भट्टराई, भोजराज अर्याल, पालिकाको निर्वाचित जनप्रतिनिधिको प्रतिनिधित्व गर्दै पालिका प्रमुखबाट अर्जुन चौपारी प्रमुख प्रकाश तिवारी, पालिका पार्टी प्रमुखबाट विरुवा गाउँपालिका अध्यक्ष डोल राज पोखरेल, क्षेत्रिय सभापति तथा पुतलीबजार नगरपालिका प्रमुख तुलसी प्रसाद रेग्मी, महासमिति सदस्य तथा महिला सङ्ग स्याङ्जा सचिव तारा मल्ल, प्रदेश क्षेत्रीय अध्यक्ष ध्रुव खाण लगायतले आफ्नो धारणा राख्नु भएको थियो।
कार्यक्रममा वक्ताहरुले सय दिने अभियानलाई महत्व राख्दै पार्टीले गरेका गतिविधिको बारेमा पार्टीले गर्नुपर्ने कार्यका बारेमा, गर्न नसकेका विषयका बारेमा र नया पुस्तालाई सहजीकरण हुने गरी अघि बढ्न आवश्यक रहेको विषयमा चिन्तन गर्नुभएको थियो। नसकेका कार्यक्रम लाई ध्यान राख्दै वैकल्पिक तरीकाबाट अघि बढ्न आवश्यक रहेको विषयमा केन्द्रित रहेर कार्य गर्न अन्तर्क्रिया आवश्यक रहेको भन्दै बोल्नु भएको थियो। त्यसैगरी समन्वय गर्दै इमान्दार भएर कार्य गर्न आवश्यक रहेको जानकारी गराउनुभएको थियो।
कार्यक्रमको समापनमा सांसद तथा जिल्ला पार्टी सभापति राजु थापाले स्याङ्जा जिल्लामा धेरै पालिका जितेर उल्लेखनीय कार्य गरेको बताउँदै जन समुदायमा आवश्यकता समस्यामा समाधान र सहजीकरणको लागि पार्टी छ भन्ने महसुस गराउने गरी लक्ष्य माथि ध्यान दिँदै जनप्रतिनिधि अघि बढ्न आवश्यक रहेको जानकारी गराउनुभयो। त्यसै गरी पार्टीमा लेविको विषयमा कुरा उठाउँदै संकलन आवश्यक रहेको जानकारी गराउनुभएको थियो।