लोकप्रियताको नाममा कुलमान घिसिङले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाए : एमाले नेता बस्नेत (भिडियाे सहित)

२०८१ मंसिर ४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले रवि लामिछाने, कुलमान घिसिङ, दुर्गा प्रसाईँ, बालेन शाहलगायतलाई ‘पपुलिस्ट’ को संज्ञा दिनुभएकाे छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रवि, बालेन, कुलमानलगायतले पपुलिजमको आडमा सामाजिक सञ्जालमार्फत अराजकता मच्चाइरहेको बताउनुभएकाे हाे ।

यिनै पुपुलिस्टहरुको कारण गत २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेका शंकर पोखरेल, प्रदीप ज्ञवाली, महेश बस्नेतलगायतका नेताहरु चुनावमा पराजित हुने अवस्था बनेको उहाँले स्मरण गर्नुभयाे । अहिले यिनै पपुलिस्ट शक्तिहरुले कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकाशलगायतका नेताहरुमाथि आक्रमण गरिरहेको नेता बस्नेतको दाबी छ । पुराना दलहरु काम नलाग्ने भए भनेर आरोप लगाउँदै उदय भएका पपुलिस्ट शक्तिहरु अहिले काम नलाग्ने प्रमाणित भइसकेको उहाँको दाबी छ ।

साथै, नेता बस्नेतले रास्वपाका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई ‘पर्यटक सहकारी ठग’ को संज्ञा दिनुभयाे । ६७ करोडमात्रै नभएर लामिछानेले डेढ अर्बभन्दा बढी हिनामिना गरेको उनको आरोप छ । ‘उहाँ अहिले सहकारी पर्यटक ठगजस्तो हुनुभएको छ । सात वटा जिल्लामा उहाँको मुद्दा चलेको छ । ६७ करोडमात्रै होईन डेढ अर्ब हिनामिना भएको भन्ने कुरा आएको छ । हुण्डीबाट अमेरिकामा पैसा पठाएको भन्ने कुरा आएको छ । प्रहरीले अनुसन्धान गर्ने क्रममा धेरै कुरा खुल्नमा आएको छ,’– उहाँले भन्नुभयाे ।

त्यस्तै, साइबर अपराधमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) को नियन्त्रणमा रहेका मेडिकल व्यसायी दुर्गा प्रसाईलाई उहाँले ‘अपराधिक ब्याकग्राउन्ड भएका अराजकतावादी’ को संज्ञा दिनुभयाे । आफूहरुले प्रसाईँको अराजकताबारे पटक–पटक बोल्दै प्रहरीले धेरै गम्भीरतापूर्वक नलिएको बताउनुभयाे । प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एक्जियटा कम्पनीमा ३२ अर्ब लगानी रहेको भ्रम फैलाएर आगामी मंसिर ७ गतेको कार्यक्रमलाई हिंश्रक बनाउन खोजेको नेता बस्नेतको आरोप छ ।

‘आज पछिल्लो बेलामा विशेष गरेर प्रधानमन्त्रीको कम्बोडियाको एक्जियटामा ३२ अर्बको लगानी छ भन्ने फेक डकुमेन्ट उहाँले प्रस्तुत गर्नुभयाे । प्रधानमन्त्रीले नाम केपी शर्मा ओली लेख्नुहुन्छ । त्यहाँ खड्का प्रसाद ओली भनेर लेखिएको छ । न हस्ताक्षर मिल्छ ? यो सबै कुरालाई फेक डकुमेन्ट बनाएर प्रधानमन्त्री र एमालेको बदनाम गर्ने र मंसिर ७ गते कार्यक्रम गर्छु भन्ने बहानामा त्यसलाई हिंश्रक बनाउन खोजियो,’– उहाँले भन्नुभयाे।

साथै, प्रसाईँले योजना बनाएर आफ्ना डिफेन्सर प्रयोग गरी अभियन्ता पुण्य गौतमको हत्या गराउने नियतले आक्रमण गराएको उहाँको आरोप छ । प्रसाईँले उहाँको विरुद्ध फरक मत राख्ने गभर्नरदेखि प्रहरी अधिकारीसम्मलाई भारतीय नम्बर प्रयोग गरेर धम्क्याएको नेता बस्नेतले बताउनुभयाे ।

नेता बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘लोकप्रियताको जगमा आफूलाई भ्रष्ट छवि बनाइरहेका व्यक्ति’ को रुपमा चित्रण गर्नुभयाे । पाटन उच्च अदालतले कुलमानले २ अर्ब १५ करोड उहाँको ठेक्का प्रक्रिया अनियमित गरेको भनी फैसला गरिसकेको उहाँको दाबी छ । कुलमान प्राधिकरणको एमडी भएदेखि नै उहाँका दाजुभाइ संलग्न भएका कम्पनीले मात्रै प्राधिकरणका ठेक्का पाइरहेको उहाँको आरोप छ ।

‘कुलमान घिसिङ लोकप्रियताको जगमा आफूलाई भ्रष्ट छवि बनाइरहेका व्यक्ति हुन् । यो कुरामा कुनै डाउट रहेन । यो कुरा हिजो भन्दा हामीमाथि साथीहरुले आलोचना गर्नुभएको थियो । आज पाटन उच्च अदालतले २ अर्ब १५ करोड उहाँको ठेक्का प्रक्रिया अनियमित हो भनेर फैसला गरेको स्थिति छ । उहाँ एमडी भएदेखि नै उहाँका दाजुभाइ जोडिएका कम्पनीबाहेक अरु कुनै पनि कम्पनीले ठेक्का प्राप्त गरेका छैनन्,’– नेता बस्नेतले भन्नुभयाे ।

विद्युत प्राधिकरणमा कार्यरत तलका हाकिमहरुलाई तार किन्ने, विद्युतको पोल गाड्ने र मर्मत गनेसम्मका अधिकार भएपनि कुलमानले केन्द्रीकृत गरेर सामुहिक रुपमा ठेक्का गरिरहेको नेता बस्नेतको आरोप छ । कुलमानको एक जना भाइले लामा कन्स्ट्रक्सनको ३० प्रतिशत शेयर किनेर साँगादेखि बनेपासम्मको ठेक्का लिएको नेता बस्नेतले बताउनुभयाे । साथै, कुलमानका राजनीतिक संरक्षकहरु तत्कालीन शासक प्रचण्डलगायतलाई उक्त ठेक्कावापत १४ करोड रकम बुझाइएको नेता बस्नेतको आरोप छ ।

कुलमानले ठेक्का प्रक्रियाका लागि ३५ वटा भन्दा बढी कम्पनी दर्ता गरेको, सोसल मिडिया र युट्युवहरुलाई आफ्नो पक्षमा परिचालन गरेको र आफ्नो दम्भको कुनै सीमा नै नराखी अराजकता मच्चाएको उहाँको आरोप छ ।

साथै, ट्रान्समिसन लाइनको डिपिआर हेरेर कुलमानले आफ्ना मान्छेहरुलाई सस्तोमा जग्गा खरिद गर्न लगाउने र पछि त्यही जग्गा महँगोमा प्राधिकरणले खरिद गर्नेगरेको उहाँको आरोप छ । कुलमानको लगानी रहेको १२ वटा हार्डवेयर पसलहरु रहेको, कुलमानका दाजुभाइहरुले त्यसलाई सञ्चालन गरेको र हाइड्रो पावरहरुमा आफ्नै हार्डवेयर पसलबाट सामान खरिद गर्न बाध्य बनाइने गरिएको नेता बस्नेतको आरोप छ ।

कुलमानको यी विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सार्वजनिक लेखा समितिको विषय बनिसकेको उहाँले बताउनुभयाे । उहाँले कुलमान भ्रष्टाचारमा रमाइरहेको टिप्पणी गर्नुभयाे । ‘कुलमानजी पपुलरारिटीको आडमा नेपाली जनताको सम्पत्तिमाथि भ्रष्टाचार गरिरहेका छन् । अकुत सम्पत्ति कमाइरहेका छन्, गडबड गरिरहेका छन् । यो कुरा हामीले भन्न सक्नुपर्छ । यसलाई उजागर गर्नसक्नुपर्छ,’– नेता बस्नेतले भन्नुभयाे ।

साथै, डेडिकेटेड टंङ्क लाईनको बक्यौता विवादका सन्दर्भमा लाल आयोगको प्रतिवेदनअनुसार अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयाे । त्यस्तै, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई उहाँले ‘तोडफोडका नेता’ को संज्ञा दिनुभयाे । उहाँले बालेन पनि विभिन्न भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउनुभयाे ।

‘बालेनजी तोडफोडका नेता हुन् । बालेनजीका समर्थक र शुभचिन्तकहरु जो हिजो हामीसँग बोल्न चाहन्थेनन्, आज उहाँहरु हामीलाई भेटिरहेका छन् । के गर्नु दाई, हामीलाई बर्बाद पार्यो भनिरहेका छन्,’– उहाँले भन्रुभयाे । बालेनको दम्भ, घमण्ड निकै बढिरहेको, आफ्ना निश्चित व्यक्तिहरुलाई लाभ हुने काम गरिरहेको, काठमाडौं प्लाजादेखि लिएर धेरै ठाउँमा अनियमितताको कुरा उठिरहेको, ध्वंसबाहेक निर्माणका काम केही नरहेको उहाँले बताउनुभयाे। बालेनकै एस म्यानहरुले दलहरु नै बलियो भएर जानुपर्ने सुझाव दिइरहेको उहाँले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय