काठमाडौं, ६ असोज । ललितपुर भैंसेपाटीको मेडिसिटी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका इलामका ३८ वर्षीय सरोज सुब्बा (लिम्बू)को उपचारको क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरबाही गरेको आरोप लगाएका छन् ।
सुब्बाको ६ असोजमा मेडिसिटी अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण गरेको एक हप्तापछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए ।
डिस्चार्ज भएको केही दिनपछि सरोजको स्वास्थ्यमा समस्या देखिन थाल्यो । हप्ता–हप्ता दिनमा फलोअप उपचार गराउँदै आएका सरोजको १ मंसिरमा मृत्यु भएको थियो ।
तर आफन्तले भने चिकित्सकले परिवारसँग परामर्श नै नगरी सरोजको शरीरबाट मिर्गौला झिकेको भन्दै शव बुझ्न अस्वीकार गरेका छन् ।
मृतकका आफन्त कुमार राईले सरोजको फलोअप उपचारका क्रममा चिकित्सकले आफूहरुलाई जानकारी नै नदिई शरीरबाट मिर्गौला झिकेको बताए ।
‘उहाँ तीन–चार पटक फलोअपमा आउनुभयो । त्यसबेला चिकित्सकले इन्फेक्सन भयो भनेर मिर्गौला निकालेका रहेछन्’, राईले प्रश्न गरे, ‘प्रत्यारोपण गर्दा भिडियो रेकर्डदेखि परिवारको सही सबै चाहिने, तर निकाल्दादेखि केही परामर्श गर्नुपर्दैन ?’
उनले अगाडि भने, ‘कसरी मिर्गौलामा इन्फेक्सन भयो ? केही जानकारी दिएको छैन । अस्पताल प्रशासनले मिर्गौला नै गायब बनाएको छ, जबसम्म हामीलाई चित्तबुझ्दो जवाफ आउँदैन लास बुझ्दैनौं ।’