क्रान्ति अर्याल
स्याङजा ,७ मंसिर । “समुन्नतिका लागि सामाजिक उत्तरदायी नेतृत्व ” भन्ने मुल नारा सहित गल्याङ जेसीजको आयोजनामा १ महिने जेसीज महाअभियान २०८१ कार्यक्रम हुने भएको छ । मंसिर ७ गते देखि सुरु हुने कार्यक्रमको बारेमा बिहिबार गल्याङमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।
१ महिने कार्यक्रम अन्तर्गत गरिब विद्यार्थी छात्रवृत्तिका लागि अक्षयकोष स्थापनार्थ चिट्ठा कार्यक्रम, सेयर बजार तालिम, महिला सशक्तिकरण तालिम, प्रथम गल्याङ जेसिस कप जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता, प्रथम गल्याङ जेसिस कप जिल्ला स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता, प्रथम गल्याङ जेसिस कप जिल्ला स्तरीय कराते प्रतियोगिता, एकै दिन पालिका भित्रका ५७ वटा विद्यालयमा वक्तृत्वकला प्रतियोगिता, विद्यालयमा उत्कृष्ट विद्यार्थीहरूलाई जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागी गराइने, जिल्ला स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता, विद्यार्थीहरूद्वारा उत्पादित वा निर्माण गरिएका वस्तुहरूको प्रदर्शनी प्रतियोगिता, शैक्षिक बहस कार्यक्रम, दौडने छ गल्याङ म्याराथन कार्यक्रम, ब्लड ग्रुप पहिचान शिविर, ब्लड डोनेसन कार्यक्रम, स्लो बाइक रेस प्रतियोगिता, शङ्ख ध्वनी प्रतियोगिता, कफी खेती व्यवस्थापन तालिम साथमा लोक नृत्य प्रतियोगिता सांस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी कार्यक्रम गरिने गल्याङ जेसीजका मूल कार्यक्रम संयोजक दर्वेन्द्रदेव खनालले जानकारी दिनुभएको हो ।
गरिब विद्यार्थीहरुका लागि करिब ५ लाख बराबरको छात्रवृद्धि हितकोष स्थापना गरी वृद्धाश्रममा समेत सहयोग गरिने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको गल्याङ जेसिसका अध्यक्ष खगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
त्यसैगरी एक महिने जेसिस अभियानको कार्यक्रममा तालिम सप्ताह संयोजक डोलराज खनाल, शैक्षिक सप्ताह संयोजक सुनिल पाठक, खेलकुद सप्ताह संयोजक नेत्रलाल अर्याल, स्वास्थ्य सप्ताह संयोजक ऋषि बस्याल रहेका छन् ।
उक्त कार्यक्रममा करिब ५ लाख ६० हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । गल्याङ नगरपालिकाका विभिन्न खेलमैदानमा उक्त कार्यक्रमहरु हुने छन् । खेल संयोजक दर्वेन्द्र देव खनालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन महासचिव साधना न्यौपानेले गर्नुभएको थियो ।