बालाचतुर्दशीका लागि पशुपति मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

२०८१ मंसिर १४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाण्डौ, १४ मंसिर । भोलिको बालाचतुर्दशीका लागि पशुपतिलगायत शिव मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो बढ्न थालेको छ ।

दिवङ्गत पितृका नाममा महादीपदान गर्न दर्शनार्थीको घुइँचो लाग्न थालेको हो । मङ्सिर कृष्णपक्षको त्रयोदशीको दिन बेलुका पशुपतिनाथमा दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । आज रातभर जाग्राम बसेर भोलि बिहान दीप बाग्मतीमा सेलाएर पशुपति क्षेत्रका विभिन्न ठाउँमा शतबीज छरिन्छ ।

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज (धान, जाैँ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्ने परम्परा छ । बालाचतुर्दशीमा शतबीज छर्ने अघिल्लो रात दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बस्छन् ।

जाग्राम बस्ने भक्तजनका लागि पाललगायतको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार आज दिउँसो २ बजेपछि मात्र भक्तजनलाई कैलाश क्षेत्रमा प्रवेश गर्न दिइनेछ ।

कैलाश क्षेत्रमा पसल राख्न प्रतिबन्ध लगाइएको छ । भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिनुभयो ।

यस्तै पशुपति क्षेत्रमा मासु र जाँडरक्सीको बिक्री वितरणमा रोक लगाइएको छ । पशुपतिनाथको मेलाका लागि काठमाण्डौ महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गरेको जनाएको छ । यस्तै मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)लाई अनुरोध गरेको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय