काठमाडौँ, ३ पुस । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले महशुल बक्यौता उठाउनकै लागि विधुत लाइने काट्ने कुरा उचित नभएको बताउनुभएको छ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुधबारबाट बुटवलमा सुरु भएको औद्योगिक व्यापार मेलाको उद्घाटन गर्नुहुँदै मन्त्री खड्काले विद्युतमा ट्रङ्क लाइन र डेडिकेटेड लाइनमा भएको विवाद सरकारले समाधान गर्ने भन्दै महशुल बक्यौता उठाउनकै लागि विधुत लाइने काट्ने कुरा उचित नभएको बताउनुभएको हो ।
१० वर्षदेखि थाती रहेको विषयलाई अहिले आएर उचालिएको उहाले बताउनुभयो । उहाले व्यवसायीहरुले पनि आफ्नो प्रयोग गरेको विधुत महशुस इमान्दीरताका साथ तिर्नुपर्ने जिकिर गर्नुभयो । विधुत प्राधिकरणका समस्या र कमी कमजोरी समेत छानविन गर्नका लागि मन्त्रालयले छानविन समिति गठन गरेको उहाले बताउनुभयो ।
मन्त्री खड्काले वर्तमान सरकार बनेपछि १० वर्ष भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र १६ हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना अगाडि बढाइएको बताउनुभयो ।
मन्त्री खड्काले राजनीतिक अस्थिरताका कारण लगानीको वातावरण नभएको भन्ने उद्योगी व्यवसायीहरूको चिन्ताप्रति सरकार गम्भीर रहेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।
अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा पुसको १८ गतेसम्म मेला आयोजना हुने आयोजकले जनाएको छ । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारासहित आयोजना गरिएको मेलामा ५ सय स्टल राखिएका छन् ।
मेलाको ५ लाख बढीले अवलोकन गर्ने र १५ करोड बढीको कारोबार हुने अनुमान गरिएको बुटवल उद्योग वाणिज्य संघले जनाएको छ ।