क्रान्ति अर्याल
स्याङ्जा ,५ पुस । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा महिलाहरूको लागि सञ्चालन भएको निःशुल्क लोकसेवा तयारी कक्षा कार्यक्रम सम्पन्न भएको छ ।
गत मंसिर ११ गते देखि संचालन भएको उक्त निःशुल्क लोकसेवा तयारी कक्षा कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
महिलाहरूलाई निजामती सेवामा सहभागी गराउन र उनीहरूको क्षमता विकास गर्ने उद्देश्यले उक्त कक्षा संचालन गरिएको थियो ।
उक्त कक्षामा ४६ जना महिलाहरुको सहभागिता रहेको थियो । निःशुल्क कक्षामा अप्राविधिक तर्फको राजपत्र अनंकित द्वितीय, सहायक स्तर चौथो तहको पाठ्यक्रममा आधारित रहेर ६० वटा कक्षा संचालन गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बोल्दै नेपालले विद्यार्थीहरूको निरन्तरको मेहनतबाट सफलता मिल्ने भन्दै सबैले समय तालिका बनाएर विषयवस्तुको अभ्यास गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
त्यसैगरी सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले यस्ता कक्षाले महिलालाई सरकारी सेवामा पहुँच दिलाउन सहयोग पुर्याउँने, निःशुल्क प्रशिक्षणले महिलाहरूलाई आर्थिक बोझ नथपिकन आफ्नो क्षमता विकास गर्ने अवसर प्रदान गर्ने हुँदा निःशुल्क कक्षा संचालन गरिएको बताउनुभयो ।
निःशुल्क कक्षाको समापन कार्यक्रममा सम्पुर्ण सहभागी महिलाहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहायक प्रशासकीय अधिकृत द्रोण प्रसाद पनेरूले गर्नुभएको थियो ।