बाख्रा पालनलाई व्यावसायिक गर्न गल्याङमा तीन दिने तालीम

२०८१ पुष ७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल

स्याङ्जा,७ पुस । नेपालमा व्यावसायिक बाख्रापालनलाई प्रोत्साहन गर्न विभिन्न संस्थाहरूले तालिमहरू सञ्चालन गरेका छन् । यसै क्रममा स्याङ्जाको गल्याङ नगरपालिकामा शाखा रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा व्यावसायिक बाख्रापालन तालिम सम्पन्न भएको छ । पौष ४ गतेदेखि सञ्चालन भएको तालिम शनिबार सम्पन्न भएको हो।

समूह सदस्यहरूको क्षमता अभिवृद्धि गर्दै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले तीन दिने व्यवसायिक बाख्रापालन तालिम सञ्चालन गरिएको संस्थाका शाखा प्रमुख तुलसा पाण्डेले जानकारी दिनुभयाे । उक्त तीन दिने तालिममा समूहका ३६ जना महिला सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । तालिममा गल्याङ नगरपालिकाका पशुसेवा शाखाका डाक्टर तोजनाथ ढकाल मुख्य प्रशिक्षकको रूपमा रहनुभएको थियो । त्यसैगरी कमलराज भट्ट, महादेव वन र दिलिपकुमार रायमाझी लगायतले प्रशिक्षण दिनुभएको थियो । उक्त तालिममा बाख्राको जात छनोट गर्ने, खोर व्यवस्थापन गर्ने, बाख्राको पोषण व्यवस्थापन गर्ने, स्वास्थ्य तथा रोग नियन्त्रण गर्ने, प्रजनन व्यवस्थापन गर्ने, व्यवसाय दर्ता र लघुवित्तको सहयोग आदि विषयमा प्रशिक्षण दिएको थियो । उक्त तालिममा प्रशिक्षणसँगै सहभागीहरूलाई गल्याङ नगरपालिकामा रहेका दुई वटा बाख्रा फर्म अवलोकन गराइएको थियो ।

समापन कार्यक्रममा बोल्दै गल्याङ नगरपालिका नगर उपप्रमुख हेमा न्यौपानेले सहभागीहरूको व्यवसायिक सफलताको कामना गर्दै तीन दिने तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न र क्षमता अभिवृद्धिसँगै बाख्रापालनलाई विस्तार गर्न आग्रह गर्नुभयो । यस्ता कार्यमा गल्याङ नगरपालिकाले समेत साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  त्यसैगरी उक्त कार्यक्रममा बोल्दै संस्थाका क्षेत्रीय अधिकृत प्रेमप्रसाद सुवेदीले विगतदेखि वर्तमानसम्ममा संस्थाले महिला सदस्यहरूको सशक्तिकरणमा जोड दिनका निम्ति यस्ता तालीमहरु प्रदान गरिएको कुरा बताउनुभयो । त्यसैगरी सामाजिक सञ्जालमा आएका भ्रामक समाचारको भ्रममा नपरि अनुशासित बनी चुस्त र दुरुस्त रूपमा आफ्नो कारोबार गर्न सदस्यहरूलाई आग्रह गर्नुभयो ।

त्यसैगरी उक्त कार्यक्रममा बोल्दै सामाजिक विकास गल्याङ शाखाका प्रमुख थानापती न्यौपानेले तालिमले सहभागीहरुलाई आर्थिक रुपमा आत्मनिर्भर र व्यावसायिक बनाउने हुँदा तालिम पश्चात सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । तीन दिने तालिमको समापनमा सहभागी सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । छाप महिला समूहको केन्द्र प्रमुख घनेसरा बरालको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन संस्थाका कर्मचारी तारा पाण्डेले गर्नुभएको थियो । त्यस्तै निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले हालसम्म देशभरका ७७ वटै जिल्लामा १८५ शाखा सञ्चालन गरी आफ्नो वित्तीय कारोबार संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय