पूजा खड्का
काठमाडौँ, १३ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विधिको शासनमा रहेर अघि बढ्नुपर्नेमा जोड दिनुभएकाे छ । महामन्त्री थापाले भक्तपुरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै आईतबार उक्त कुरा बताउनुभएको हो ।
विधिको शासन सबैले मान्नुपर्छ भन्दै उहाँले राष्ट्रपति, प्रधानमन्त्री तथा जतिसुकै शक्तिशाली भए पनि गलत गरेको भए कारबाही हुनुपर्नेमा जाेडदिनुभयाे। जनतालाई अधिकार दिने सवालमा अहिलेको प्रजातान्त्रिक व्यवस्था उत्तम रहेको बताउँदै यो व्यवस्थाको विकल्पको बारेमा सोच्नै नहुने धारणा राख्नुभयो ।
दश वर्षे जनयुद्धका कारण देशमा विकासको स्थिति ठप्प भएको भन्दै पछिल्लो समय देशको विकासले लय लिएको जिकिर गर्नुभयो । स्कूल पढ्न कै लागि शहर पस्नपर्ने बाध्यताको अन्त्य भएको तर्फ इंगित गर्दै पहिलेको तुलनामा निकै परीवर्तन भएको समेत व्याख्या गर्नुभयो।
शासन गरेर लोकप्रिय हुन समय नलाग्ने विपी, मनमोहन र गिरिजा प्रसाद कोइरालाको उदाहरण दिँदै महामन्त्री थापाले संघ, प्रदेश र स्थानीय तिनै तहका सरकारलाई लोकप्रिय हुने गरी काम गर्न सुझाब दिनुभयो । ८४ को चुनावको चिन्ता नलिन आग्रह गर्दै परिणाममुखी काममा ध्यान दिन जोड गर्नुभयो।