अछाम, १४ माघ । अछामको ढकारी गाउँपालिका–८ पल्साँताका दुई किशोरी जंगलमा मृत फेला परेको घटनाबारे अछामका जनप्रतिनिधिले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
ढकारी गाउँपालिका– ८ की १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्काको सुनघर सामुदायिक वनमा शनिबार बेलुकी मृत अवस्थामा फेला परेका थिए । घटना शंकास्पद रहेको भन्दै आफन्तले प्रभावकारी अनुसन्धान गर्न माग गरिरहेका छन् ।
यही क्रममा अछाम– १ का सांसद तथा पूर्वमन्त्री शेरबहादुर कुँवर, अछाम– २ का सांसद् पुष्पबहादुर शाह, पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले यो घटनाको प्रभावकारी अनुसन्धानको आग्रह गर्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन् ।
त्यसक्रममा गृहमन्त्री लेखकले घटनाको सुरुवातदेखि नै आफूले गम्भीरतापूर्वक लिएको भन्दै प्रहरीले सुक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताएका थिए ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीका अनुसार किशोरीसँगै गोठालो गएका दुईजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । २० वर्षमुनिका भएकाले प्रहरीले उनीहरूको परिचय भने खुलाएको छैन ।
शनिबार घरबाट बाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा दुवै जना मृत अवस्थामा फेला परेका थिए । टाउको र शरीरमा गम्भीर चोट लागेको अवस्थामा भेटिएका उनीहरूको भेरी प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरिएको छ ।
यसबीच, गृहमन्त्रीसमक्ष भारतमा हालै भएको रेल दुर्घटनामा ज्यान गुमाएका अछामका पाँच नागरिकको परिवारलाई राहतका लागि पनि ध्यानाकर्षण गराएको सांसद् कुँवरले जानकारी दिए । गृहमन्त्रीसँगको छलफलमा जनप्रतिनिधिहरूले रोजगारीका लागि भारत जाने नेपाली मजदुरको स्वास्थ्यबीमाको व्यवस्थ गर्न पनि माग गरेका थिए ।