क्रान्ति अर्याल
स्याङजा, १४ माघ । गण्डकी प्रदेशका पुर्व प्रदेश सांसद भावगत प्रकाश मल्लले गंगालाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव एतिहासिक बन्ने बताउनुभएकाे छ ।
स्याङ्जाको चापाकोट नगरपालिका ९ स्थित गंगालाल माध्यमिक विद्यालयको ५० बर्ष पुगेको अबसरमा सोमबार स्वर्ण जयन्तीको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले गंगालाल विद्यालयको भवनको डिजाईन र संरचनामा अनावश्यक खर्च गरिएको र दुईवटा भवन अधुरो राखिएको बारेमा चर्चा गर्दै विद्यालयको अधुरो भवन पुरा गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
शिक्षाको गुणस्तर सुधार्न काँग्रेस र एमाले पार्टीबीचको सहकार्यलाई मजबुत पार्न साना मुद्दामा अल्झनु नपर्ने कुरामा जोड दिदै शिक्षामन्त्री विद्या भट्टराईलाई भव्य सम्मान गर्न सुझाव पनि दिनुभयो । चापाकोटलाई प्रदेश राजधानी बनाउन योग्य स्थान भएको दाबी गर्दै, कालीगण्डकी क्षेत्रको विकासका लागि अझै धेरै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्याङजा जिल्लामा ८२ प्रतिशत साक्षरता भएको जिल्ला हो । चापाकोट नगरपालिका ९ स्थित गंगालाल माध्यमिक विद्यालय एक उदाहरण विद्यालय हो ।