गल्याङ ५ मा फागुन १३ देखि १७ गतेसम्म तामेकोट महोत्सव हुने

२०८१ माघ १५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल 
 स्याङ्जा ,१५ माघ ।  गल्याङ नगरपालिका ५ स्थित ऐतिहासिक तामेकोट क्षेत्रले आगामी फागुन महिनामा तामेकोट महोत्सव २०८१ आयोजना गर्ने निर्णय गरेको छ । महोत्सव २०८१ फागुन १३ गतेदेखि १७ गतेसम्म हुने निश्चित गरिएको हो ।

महोत्सवको मिति गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपानेको प्रमुख आतिथ्यतामा र वडा नं. ५ का वडा अध्यक्ष घनश्याम भट्टराईको अध्यक्षतामा माघ ११ गते तय गरिएको हो ।

तामेकोट महोत्सवको आयोजनाको निर्णय तामेकोटको निर्माणाधीन बागी मञ्चमा बसेको एक विशेष भेलामा गरिएको हो । सांस्कृतिक आदानप्रदान र बौद्धिक छलफलका अवसरहरू सिर्जना गर्ने उद्देश्यले गर्न लागिएको महोत्सवमा राजनीतिज्ञ, अर्थविद्, प्राध्यापक, साहित्यकार, चलचित्रकर्मी र रङ्गकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

हात्तीस्तान फाउन्डेसनका अध्यक्ष डा. शिवशङ्कर बस्यालले महोत्सवको तयारीका बारेमा जानकारी दिदै तामेकोट महोत्सव २०८१ सांस्कृतिक धरोहरको प्रचार र समृद्धिको दिशामा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । उहाँले यस महोत्सवमा जनजातीय, सांस्कृतिक, साहित्यिक र कलाक्षेत्रका विभिन्न व्यक्तिहरूको सहभागिता रहने कुरा बताउनुभयो ।

समितिमा कुल १५ सदस्यहरू रहेका छन । जसको नेतृत्वमा डा. बस्याल हुनुहुन्छ । त्यसैगरी समितिमा गल्याङ नगरपालिका(५ का वडाध्यक्ष घनश्याम भट्टराई, ग.न.पा. ६ का वडाअध्यक्ष दीप छिरिङ गुरुङ, ४ का वडा अध्यक्ष ढाकाराम न्यौपाने, ७ का वडा अध्यक्ष झबिलाल पाण्डे, ११ का वडा अध्यक्ष दलबहादुर सिंजाली, २ का वडा अध्यक्ष अशोक थापा र समाजसेवी थानेश्वर न्यौपानेजस्ता प्रतिष्ठित व्यक्तिहरू रहेका छन् ।

यस कार्यक्रमको आयोजनाले तामेकोट र आसपासका क्षेत्रलाई पर्यटन र सांस्कृतिक दृष्टिकोणबाट नयाँ अवसरहरू प्रदान गर्ने विश्वास गरिएको छ । यस महोत्सवका माध्यमबाट तामेकोट क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्वलाई विश्वसामु प्रस्तुत गर्ने योजना रहेको छ । त्यसैगरी महोत्सवले शैक्षिक, सामाजिक र सांस्कृतिक विकासका लागि नयाँ मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय