पढ्दै कमाउँदै’ कार्यक्रमले विद्यार्थीलाई आत्मनिर्भर बनाएको छ : प्रदेस सांसद भट्टराई

२०८१ माघ १६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल

स्याङ्जा ,१६ माघ ।  गल्याङ नगरपालिका ११  श्री बज्रे भञ्ज्याङ माध्यमिक विद्यालयकाे ६४औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराईले विद्यार्थीलाई पढ्दै कमाउँदै’ जस्ता कार्यक्रमले विद्यार्थीलाई आत्मनिर्भर  बनाएकाे बताउनुभएकाे छ ।

उहाँले भ्न्नुभयाे, विद्यालयको योगदानको प्रशंसा गर्दै शिक्षा र व्यावसायिकताको समायोजन यस विद्यालयको मुख्य विशेषता रहेको बताउनुभयो । त्यस्तै ‘पढ्दै कमाउँदै’ जस्ता कार्यक्रमले विद्यार्थीलाई आत्मनिर्भर बनाउनुका साथै स्थानीय अर्थतन्त्रलाई पनि सबल बनाएको विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकारले यस्ता प्रेरणादायक प्रयासहरूलाई सधैं सहयोग र समर्थन गर्ने समेत बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर सिंजालीले विद्यालयका आगामी योजनाबारे प्रतिबद्धता व्यक्त गर्दै शैक्षिक सुधारका लागि अभिभावकहरूको निरन्तर सहयोगको प्रशंसा गर्नुभयो ।

विद्यालयले ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत ११३ विद्यार्थीलाई तरकारी खेती, च्याउ उत्पादन र मह उत्पादनमा संलग्न गराएको छ । उत्पादनबाट हुने आम्दानी ‘उद्दम कोष’ सञ्चालनमा प्रयोग हुँदै आएको प्रधानाध्यापक नेत्र गैर्हेले जानकारी गराउनुभयो । त्यसैगरी उहाँले विद्यालयको शैक्षिक प्रगति, आर्थिक स्थिति र भविष्यका योजनाबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै उक्त कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने, गल्याङ नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख हिमाल भण्डारी, संस्थापक नगरप्रमुख भुपराज अधिकारी, वडा नं.४ का वडा अध्यक्ष ढाकाराम न्यौपाने, वडा नं.५ का अध्यक्ष घनश्याम भट्टराई, गल्कोट माविका प्रधानाध्यापक विष्णु भट्टराई लगायत विशिष्ट व्यक्तित्वहरूले शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा विद्यालयका लागि विशेष योगदान पुर्‍याउने शिक्षक दुर्गा प्रसाद खनाल, नन्दिकला सारु धिताल र सहायक कर्मचारी फम बहादुर सिंजालीलाई उत्कृष्ट सेवाका लागि सम्मान गरिएको थियो । साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

उक्त कार्यक्रम अझ रोचक बनाउन शैक्षिक सामग्रीको प्रदर्शनीसँगै विद्यार्थीले उत्पादन गरेका ताजा च्याउ, जैविक तरकारी, महका आकर्षक स्टल राखिएको थियो । साथै स्थानीय मौलिक स्वाद झल्काउने परिकारहरूको विशेष प्रदर्शनीले उपस्थित सबैलाई थप आकर्षित गरेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य शिक्षक भोजराज भण्डारीले गर्नुभएको थियो भने सञ्चालन शिक्षक रेशम रानाले गर्नुभएको थियो । अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप सफल र प्रभावकारी बनाएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार