डडेल्धुरा, २३ माघ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले संघीयताको लाभ सबैभन्दा धेरै मुलुकका दुर्गम क्षेत्रहरूले लिएको बताएका छन् ।
डडेल्धुराको आलितालमा गाउँपालिकास्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै पुनले संघीयताले काठमाडौँ केन्द्रित साधन श्रोत गाउँगाउँ पुगेको बताए ।
संघीय संरचनाकै कारण गाउँगाउँका नागरिकको राज्यमा पहुँच वृद्धि भएको र त्यसैलाई आफूहरूले ‘गाउँको सिंहदरबार’ नाम दिएको उनको भनाइ थियो ।
पुनले संघीयताको लाभ सबैभन्दा धेरै कर्णाली र सुदूरपश्चिम प्रदेशले लिएको पनि उल्लेख गरे । आर्थिक विकास सूचकाङ्कमा पछिल्लो वर्षहरूमा कर्णाली र सुदूरपश्चिमले प्रगति गरेको आँकडामै हेर्न सकिने तर्क उनले गरे ।