सुर्खेत, २९ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धन सरकार भ्रष्टाचारी संरक्षित भएको जिकिर गरेका छन् ।
मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘सरकारतिर हाम्रो ध्यान छैन । जति चलोस्, चलोस्, ०८४ पछिसम्म गएपनि हामीलाई टेन्सन छैन ।’ यद्यपि सरकार नै अपारदर्शी, असंवैधानिक, अप्राकृतिक र भ्रष्टाचारीलाई बचाउने उद्देश्यले बनेको दाबी गर्दै उनले पार्टी मुखदर्शक नबन्ने प्रस्ट पारे ।
साथै प्रचण्डले केपी ओली बेइमानी भएको र सुशासन भत्काउन लागि परेको पनि बताए । उनले भने, ‘बरु शेरबहादुरजी इमान्दार हुनुहुन्छ, केपीजस्तो जाली झेली, बेइमानी कोही छैन । मलाई स्वर्ग र नर्क जाने कुरा गरेर ढाँटे ।’
त्यसैले अहिलेको सरकारले गलत गरे हेरेर नबस्ने प्रचण्डको भनाइ छ । ‘जस्तो गरेपनि सरकार टिकिरहोस् भन्ने त हैन तर सरकारप्रति माओवादीको कुनै चासो छैन,’ उनले भने, ‘हामी जनतामा छौँ, माओवादीलाई एक्लै चुनावमा जान सक्दैनन् भन्ने आरोप छ, त्यो गलत हो, उपनिर्वाचनले देखाइसकेको छ ।’
माओवादी कसैको वैशाखीबिनाकै चुनाव लड्न सक्ने सामर्थ्य राख्ने पनि उनको भनाइ थियो ।