स्याङ्जामा परम्परागत सीपको पुस्तान्तरण: सीपमा अग्रसर सामाजिक विकास कार्यालय

२०८१ माघ २९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल
स्याङजा, २९ माघ । सामाजिक बिकास कार्यालय स्याङजा फरक अभियानका साथ अगाडि बढेको छ । फरक अभियानको क्रममा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं. ५ मा रहेको गोगनपानी आधारभूत विद्यालयमा जेष्ठ नागरिकहरूले विद्यार्थीहरूलाई परम्परागत सीप हस्तान्तरण स्वरुप अभियान नै सुरु गरेका हुन । सोहि क्रममा विद्यार्थीहरूलाई चकटी, कूचो र मुढा बनाउन सिकाउने उद्देश्य सहित सामाजिक विकास कार्यालय स्याङ्जाले उक्त कार्यक्रम राखेको थियो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरू कोही मकैको भुत्ला र प्लास्टिकबाट चकटी बनाउँदै थिए, कोही बाबियाको कूचो बनाउन तल्लीन थिए भने कोही बाँसबाट मुढा बनाउने अभ्यास गर्दै थिए । जेष्ठ नागरिकहरूका अनुभव र सीपबाट विद्यार्थीहरू व्यावहारिक ज्ञान आर्जन गर्दै खुसी देखिन्थे । जेष्ठ नागरिकहरू पनि आफ्ना परम्परागत सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्न पाउँदा निकै उत्साहित बनेका थिए । परम्परागत सीप बचाउँदै वातावरण संरक्षणलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित प्लास्टिकजन्य फोहोर पुनः प्रयोग गरेर उपयोगी सामग्री बनाउन सिकाइएको थियो । सो कार्यक्रममा चाउचाउ र बिस्कुटका खोल, प्रयोग नभएका प्लास्टिकका टुक्राहरूलाई संकलन गरी चकटी बनाउन प्रयोग गरिएको थियो ।जसले वातावरण प्रदूषण नियन्त्रणमा पनि सहयोग गर्ने गर्दछ ।

कार्यक्रममा सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेल, वडा नं. ५ का अध्यक्ष कृष्ण पनेरु, आँधीखोला गाउँपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी सापकोटा, त्यसैगरी विद्यालयका प्रधानाध्यापक ख्यामनारायण लामिछाने रन्जितू, शिक्षक, अभिभावक, कर्मचारी तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सामाजिक विकास कार्यालय प्रमुख पौडेलले जेष्ठ नागरिकहरूसँग रहेको ज्ञान, सीप र अनुभव पुस्तान्तरण गर्दै जानु आवश्यक रहेको बताउनुभयो । उहाँले वातावरण प्रदूषण रोक्न प्लास्टिकजन्य फोहोरबाट दैनिक जीवनमा प्रयोग हुने सामग्री बनाउन थालेको यो प्रयास सकारात्मक भएको बताउनुभयो । त्यसै गरि वडा अध्यक्ष पनेरुले यस्ता कार्यक्रमले जेष्ठ नागरिकको सम्मान बढाउने मात्र नभई विद्यार्थीहरूलाई व्यवहारिक सीप सिक्ने अवसर पनि प्राप्त भएको बताउनुभयो । शिक्षा शाखा प्रमुख सापकोटाले विद्यार्थीहरू छोटो समयमा विभिन्न उपयोगी सीप सिक्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उक्त कार्यक्रमा सहभागी जेष्ठ नागरिकहरूलाई सम्मानपत्र प्रदान गरिनुका साथै विद्यार्थीहरूलाई ४२ वटा बालसाहित्य पुस्तक वितरण गरिएको थियो । सहायक प्रशासकीय अधिकृत द्रोण प्रसाद पनेरुले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ख्यामनारायण लामिछाने रन्जितूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार