काठमाडौं, ३० माघ ।आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले शान्तिपूर्ण विरोध सभा गर्नका लागि नागरिकको हकमाथि सरकारले प्रतिबन्ध लगाएको आरोप लगाएका छन् ।
संविधानमा भएको मौलिक हक अनुसार नै आफ्ना कुरा राख्न पाईने, शान्तिपूर्ण सभा, विरोध गर्न पाउँने भए पनि अहिले त्यस्तो अभिव्यक्ति व्यक्ति गर्नका लागि काठमाण्ड़ौमा ठाउँ नै नभएको उनले गुनासो गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा साहले ‘नेपालमा लोकतन्त्र छ की निरंकुशता छ ?’ भन्ने प्रश्न गर्दै लोकतन्त्रमा सरकारले अभिव्यक्ति स्वतन्त्रता किन हनन गर्न खोजेको भनेर सरकारसंग जवाफ माग गरेका छन् ।
‘नेपालमा लोकतन्त्र छ कि निरंकुशता छ ? निरंकुश भनिएको राजतन्त्रको बेलामा उफ्रिउफ्री विरोध र सभाहरु गर्ने नेता आज सत्तामा पुगेपछि आफैं निरंकुश बन्नु भएको छ । नेपाली जनताले विरोध गर्न खोज्दा विरोध गर्न पाउँने ठाउँ कहाँ छ ?’, उनको प्रश्न छ ।
साह अगाडि भन्छन्, ‘हामी निर्वाचित सांसद भएकाले त ठाउँ पाउँदैनौं भने सर्वसधारणको हालत के होला ? यस बारेमा यो संसदले सरकारलाई निर्देश गरोस् ।’
प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल नेकपा (एमाले)ले व्यस्त सडकमै मञ्च बनाएर कार्यक्रम गर्ने छुट पाएपनि आम नागरिकले विरोध गर्ने ठाउँ कहीँ कतै नपाएको उनले बताए ।
आजपा अध्यक्ष साहले सरकारले जनतालाई रून, हाँस्न समेत नदिएको टिप्पणी गरे ।
‘ठूला–ठूला नेता, प्रधानमन्त्रीज्यूहरुले सडकमै मञ्च लगाउनुहुन्छ । व्यवस्त सडकमा मञ्च बनाउनुहुन्छ, त्यो आम जनताले पाउँछ कि पाउँदैन । जो शासक छ, उही सडकमा सभा गर्छ । जनताले कहाँ सभा गर्ने ? कुनै ठाउँ दिँदैन’ उनले भने ।
आजपा अध्यक्ष साहले भने, ‘अरु पनि देशमा लोकतन्त्र छ, लोकतान्त्रिक व्यवस्था छ । सबै देशहरुमा सभा सम्मेलन गर्ने ठाउँ दिइएको हुन्छ । हिजो राजतन्त्र हुँदा सभा सम्मेलन गर्ने ठाउँ खुल्ला थिए । त्यतिबेला निरंकुश राजा भन्नेहरु आजको सिस्टमलाई के भन्ने ? आजको सिस्टमलाई लोकतन्त्र भन्ने ? जनतालाई रुन पनि नदिने, हाँस्न पनि नदिने ?’
राजतन्त्रको समयमा उफ्रिउफ्रि सभा गर्ने, भाषण गर्ने नेताहरुले आज ति ठाउँमा ताल्चा लगाइएको किन नदेखेका होलान भन्दै उनले सरकार राजाभन्दा पनि बढी निरंकुश बनेको टिप्पणी गरे ।