काठमाडौं,१ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिनुभएकाे छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ३० औं ‘जनयुद्ध’ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कसैले मेटाएर ‘जनयुद्ध’ नमेटिने बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘हजारौं शहीदहरुको बलिदानबाट रगतबाट सिञ्चित यो प्रक्रिया, हजारौं बेपत्ता योद्धाहरुको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौं सयौं वर्षसम्म रहनेछ । कसैले मेटाएर यो मेटिने छैन । जसले मेटाउने दुस्साहस गर्छ उही नै खरानी हुन्छ भन्ने मेरो विश्वास छ ।’
‘जनयुद्ध दिवस साँच्चै नै जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस नै हो । यसलाई राष्ट्रिय दिवसकै रुपमा हामीले अगाडि लैजानुपर्छ । जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक चेष्टाहरु पनि भएका छन् । त्यसैले जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियानको रुमपा, महान बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रुपमा हामीले स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्छ ’ उहाँकाे भनाइ थियाे ।