क्रान्ति अर्याल
स्याङ्जा,२ फागुन । नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सिद्धार्थ राजमार्गको स्तरोन्नति सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । उहाँले सडक सुधारले जिल्लाको भौतिक पूर्वाधार विकासलाई तीव्रता दिनुका साथै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
विरुवा गाउँपालिकाको नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले राजमार्गका घुम्ती हटाउँदा करिब २५ किलोमिटर दूरी घट्ने बताउनुभयो । उहाँले स्तरोन्नति योजनाले स्याङ्जा लगायत आसपासका क्षेत्रको यातायातलाई सहज बनाउने समेत बताउनुभयो ।
त्यसैगरी ज्याग्दीखोला करिडोर निर्माणका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै चापाकोट सिँचाइ आयोजनाको पुनर्निर्माणमा सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो ।
संविधानले तीन तहका सरकारहरूबीच सहकार्यको परिकल्पना गरेको उल्लेख गर्दै मन्त्री पौडेलले संघीय, प्रदेश र स्थानीय सरकारहरूले आ–आफ्नो अधिकारको सही प्रयोग गरी विकास निर्माणका कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजु थापाले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको बताउँदै वर्तमान सरकार नागरिकको आवश्यकता अनुरूप काम गरिरहेको बताउनुभयो ।
त्यस्तै १३ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ प्रशासनिक भवन संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त ८ करोड ४० लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको बिरुवा गाउँपालिकाका अध्यक्ष सुर्य कुवरले बताउनुभयो । उक्त नयाँ भवनबाट गत २०८१ साउनदेखि सेवा प्रवाह सुरु भइसकेको पालिकाले जानकारी दिएको छ ।