क्रान्ति अर्याल
स्याङ्जा,२ फागुन ।
स्याङ्जा उद्योग वाणिज्य संघद्वारा आयोजना गरिएको सातौँ स्याङ्जा महोत्सवलाई सबैका लागि सहज र समावेशी बनाउने तयारी गरिएको छ । विशेष गरी अपांगता भएका व्यक्तिहरूलाई महोत्सवमा सहज पहुँच सुनिश्चित गर्न विभिन्न व्यवस्थाहरू मिलाइने भएको छ ।
अपांगता भएका व्यक्तिहरूको सहज सहभागिता सुनिश्चित गर्न अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्रू को अनुरोधमा उद्योग वाणिज्य संघले महत्त्वपूर्ण पहलहरू गरेको छ । महोत्सवमा अपांगता परिचय पत्रका आधारमा निःशुल्क प्रवेश, छुट्टै प्रवेशद्वार, मुख्य मञ्चमा विशेष बसाइ व्यवस्थापन साथै अपांगता भएका कलाकारहरूलाई प्राथमिकताका साथ प्रतिभा प्रदर्शनको अवसर दिने व्यवस्था गरिने भएको छ ।
यसै क्रममा अपांगता भएका व्यक्तिहरूलाई सहज वातावरण उपलब्ध गराउन अपांगता अधिकारकर्मी तथा अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष युवराज पराजुलीको संयोजकत्वमा १९ सदस्यीय उपसमिति गठन गरिएको छ । महोत्सवमा अपांगता सम्बन्धी सचेतनामूलक सामग्रीहरू प्रदर्शन गर्ने छुट्टै स्टलको समेत व्यवस्था गरिने उद्योग वाणिज्य संघका महासचिव रविन केसीले जानकारी दिनुभयो ।
अपांगता भएका व्यक्तिहरूको सहभागिता र अधिकार प्रवर्द्धन गर्न महोत्सवले सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको छ । सामाजिक उत्तरदायित्वका साथै समावेशीता कायम गर्न गरिएको यस पहललाई सबैले स्वागत गरेका छन् ।
सातौँ स्याङ्जा महोत्सव आगामी फागुन ६ गतेदेखि १८ गतेसम्म पुतलीबजार नगरपालिका–१, मालेबगर खेलमैदानमा आयोजना हुँदैछ ।