क्रान्ति अर्याल
स्याङ्जा, ९ फागुन । कुलदेवता पूजा भनेको आफ्नो कुल देवतालाई खुसि बनाउनको लागि गरिने संस्कार हो । कुलपूजा भनेको कुलको परम्परा वा शास्त्रीय विधिअनुसार पित्री, पुर्खा, कुलका संरक्षक देवता तथा स्थानीय देवीदेवताको निश्चित तिथिमा गरिने पूजा हो । शास्त्रमा ‘कुल’का साथै कुलायन, कुलायिनीजस्ता शब्द प्रयोग गरेको पाइन्छ सोहि अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका(११, जैसीडाँडा स्थित कुल मन्दिरमा आत्रेय गोत्रका अर्याल बन्धुहरूको कुल पूजा शुक्रवार धार्मिक र पारम्परिक विधि अनुसार बाजागाजा र झाँकी सहित भव्य रूपमा सम्पन्न भएको छ ।
प्रत्येक पाँच वर्षमा एकपटक हुने यस कुलपूजामा पुतलीबजार नगरपालिका वडा नं. १, वडा नं. १०, वडा नं. ११ र वडा नं. १३ का १७० घरधुरीका करिब १५०० अर्याल बन्धुहरूको सहभागिता रहेको थियो ।
विहानैदेखि श्रद्धालुहरू बाजागाजा र झाँकीको धुनसहित कुल मन्दिरमा जम्मा भएका थिए । विधिपूर्वक पूजापाठ, हवन र धामीद्वारा कुल देवताको आह्वान गर्दै परिवारको सुख, समृद्धि र स्वास्थ्यको कामना गरिएको थियो । यस वर्ष परम्परागत बलि दिने चलनलाई निरन्तरता दिँदै केही परिवारहरूले बलिसहित पूजा सम्पन्न गरे भने केही परिवारहरूले खीर प्रसाद चढाएर पूजाको विधि पूरा गरेका थिए । पूजामा धामीहरूले देवताको आशीर्वाद लिने विधि प्रदर्शन गरे । जसलाई उपस्थितहरूले श्रद्धापूर्वक अवलोकन गरेका थिए ।
कुलपूजा व्यवस्थापन समितिका अध्यक्ष दशरथ शर्मा अर्यालले पुर्खाहरूबाट सुरू गरिएको यो धार्मिक परम्परा निरन्तरता दिँदै आएको बताउनुभयो । त्यस्तै हरेक पुस्ताले यसको महत्व बुझ्न आवश्यक हुने बताउदै बलि दिने र खीर प्रसाद चढाउने दुवै विधिले धार्मिक आस्थाको विविधता दर्शाउँने बताउनुभयो । त्यस्तै यस्ता कार्यक्रमहरूले पारिवारिक एकता मात्र होइन, संस्कृतिको संरक्षणमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी पुतलीबजार नगरपालिका वडा नं। १० का थानेश्वर अर्यालले यस्ता धार्मिक र सामाजिक कार्यक्रमहरूले पारिवारिक सम्बन्ध सुदृढ गर्नुका साथै नयाँ पुस्तामा सांस्कृतिक पहिचानको भावना जागृत हुने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कुलपुजामा जेष्ठ नागरिकहरूले पूजाको महत्व र इतिहासबारे अनुभव सुनाएका थिए । त्यस्तै युवा पुस्तालाई संस्कार र परम्पराको महत्त्व बुझाउन विशेष छलफल पनि गरिएको थियो ।
पूजा सम्पन्न पछि अर्याल बन्धुहरू बीच आपसी भेटघाट र अनुभव आदानप्रदान भएको थियो । पारिवारिक सम्बन्ध सुदृढ गर्न र संस्कृतिको संरक्षणमा योगदान पुर्याउने कुल पूजा पछि प्रसाद वितरण र सामूहिक भोजनको व्यवस्था गरिएको थियो ।