काठमाडौं,१० फागुन । गृहमन्त्री रमेश लेखकले मुलकमा लोकतन्त्रको विकल्प नभएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा बोल्दै गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने भन्दै यसको विकल्प खोजे मुलुक संकट पर्ने बताउनुभयो । सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्ने उहाले बताउनुभयो ।
लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकले बताउनुभयो । उहाले दश वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको बताउनुभयो ।
अहिलेको परिवर्तनलाई थप बलियो बनाउनका लागि संविधान संशोधन हुने भएकाले कोही पनि आशंकीत हुननपर्ने उहाले बताउनुभयो । उहाले बिभिन्न आन्दोलनका कारण अहिलेको परिवर्तन सम्भव भएको र बिचार अभिव्यक्ति सवैले राख्न सक्ने अवस्था पैदा भएको जिकिर गर्नुभयो ।
राज्यका सबै अङ्गमा सुदूरपश्चिमको उचित प्रतिनिधित्व गराउन आफूहरू लागिपरेको उहाँले बताउनुभयो ।