कर्णालीमा वर्षा र हिमपात

२०८१ फाल्गुन १७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सुर्खेत, १७ फागुन । कर्णाली प्रदेशमा हिमपात र वर्षा भएको छ । शुक्रबार बिहानैदेखि कर्णालीका सबैजसो जिल्लामा वर्षा भइरहेको छ भने हिमाली जिल्लामा हिमपात भइरहेको छ ।

हिमपात र वर्षा शनिबार पनि निरन्तर छ । हिमपातसँगै भएको वर्षातले किसानहरू भने उत्साहित छन् । यो वर्ष लामो समयसम्म पानी नपर्दा खडेरीले हिउँदे बाली सुक्न थालेको थियो ।

हिउँदे बाली सुक्न थालेसँगै कृषकहरू उत्पादनमा ह्रास आउने चिन्तामा थिए । तर, हिमपातसँग वर्षातले राहत दिएको कृषकहरू बताउँछन् । ‘पानी नपर्दा लगाएको गहुँ लगायतका अन्नबाली सुक्नै लागेका थिए, पानी आउँदा थोरै भएपनि राहत भयो,’हुम्लाका रत्नप्रसाद जैसी भन्छन्, ‘खासमा हिमालतिर अलि अगाडि नै हिमपात हुनुपर्ने हो तर, भएन ।’

यसअघि पुस र माघमै हिमपात र वर्षा हुने गरेको थियो । यो पटक भने ढिलो गरी वर्षा भयो । पश्चिम दैलेखको ठाटीकाँधका नामबहादुर शाही भन्छन्, ‘लगाएको गहुँ, जौ सुक्न थालिसकेका थिए, ढिलै भएपनि पानीले राहत दियो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार