काठमाडौं ,१७ फागुन । गृहमन्त्री रमेश लेखकले लागू औषधमुक्त समाज निर्माणकालागि लागू औषध विरुद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
शनिबार काठमाण्डौमा उपत्यका प्रहरी कार्यालयले सुरु गरेको लागू औषध विरुद्धको महाअभियान उद्घाटन गर्दैगृहमन्त्री लेखकले लागू औषध व्यक्ति, परिवार हुदै समाजकै लागि घातक रुपमा देखा परिरहेको भन्दै यसबिरुद्धको अभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिनुभएको हो । लागू औषधले व्यक्तिलाई मात्र नभई समग्र समाजलाई खोक्रो बनाउँदै लगेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले अभियानका रुपमा सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले लागू औषध विरुद्धको महाअभियानलाई विद्यालय स्तरसम्म महाअभियान पु¥याउन आवश्यक रहेको बताउनुभयो । सवारी दुर्घटना, लुटपाट, चोरी, साइबर अपराध, आत्महत्या, यौनजन्य घटनाका पछाडी लागूऔषध एउटा कारकका रुपमा रहेको उहाँको भनाई थियो । उहाले समाजका धेरै अपराधहरुको नियन्त्रणका लागि लागूऔषध नियन्त्रण गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरिक्षक बसन्त कुँवरले लागू औषध नियन्त्रण गर्न देशभरका सवै कार्यालयबाट लागू औषध नियन्त्रण र रोकथाम कार्ययोजना कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । उहाले प्रहरीले देशका बिभिन्न स्थानमा सुधार केन्द्र स्थापना गरेको भन्दै कुलतमा लागेका युवाहरुलाई उपचार र सुधार विधिबाट असल र सक्षम नागरिक बनाउने गरि कार्य भइरहेको उल्लेख गर्नुभयो ।
कुँवरले नेपाललाई लागू औषध ओसारपसारको ट्रान्जीट प्वाइन्ट बनाउने गरेको भन्दै प्रहरीले विशेष निगरानी गर्दै नियन्त्रणको प्रयास गरिरहेको जानकारी दिनुभयो ।