काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामकृष्ण यादवले सरकारले ल्याएको ६ वटा अध्यादेश जनताको आवश्यकता र मुलुकको हितमा रहेको बताउनुभएको छ । सरकारले ल्याएको विभिन्न अध्यादेशको सन्दर्भमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको दलका नेताहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उहाले कुनै पनि अध्यादेशको विरोध गर्नुपर्ने आवश्यकता नै नरहेको बताउनुभयो ।
उहाले अध्यादेश आवश्यक रहेको बताउँदै यसलाई संघीय संसद्को दुवै सदनबाट पारित गराइनुपर्ने र यसका लािग सहमति खोज्नुपर्नेमा जोड दिनुभयो । साथै, यादवले दल विभाजनको उद्देश्य राखेर राजनीतिक दलसम्बन्धी विधेयक ल्याउन खोजिएको भन्ने कुरामा कुनै सत्यता नरहेको जिकिर गर्नुभयो । लोकतन्त्रमा कुनै पनि राजनीतिक दललाई सकाउन र निषेध गर्ने उद्देश्य राखेर विधेयक ल्याउन नसकिने उहाको भनाइ छ ।
त्यस्तै एमाले नेता शेरबहादुर तामाङले अध्यादेश ल्याउने कुरा नेपालको संविधानले नै व्यवस्था गरेकाले यसलाई गलत भन्न नसकिने बताउनुभयो । अध्यादेश कुनै अलपत्र अवस्थामा नरहेको र अब छिट्टै संसद्मा पेश भएर पारित गरिने नेता तामाङले बताउनुभयो । उहाले साथै, सरकारले दल विभाजनको उद्देश्य राखेर विधेयक नल्याउने धारणा राख्नुभयो ।
तामाङले वर्तमान सत्ता समीकरण आगामी २०८४ को निर्वाचनसम्म नै अगाडि बढ्ने धारणा राख्नुभयो ।