काठमाडौं, २१ फागुन । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सांसद किनबेचको अभिव्यक्तिप्रति सभामुख गम्भीर हुन आवश्यक रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘सरकार सांसद किनबेचमा लागेको भन्ने सुनिराखेका छौँ । सत्ता गठबन्धनकै प्रमुख नेताले अध्यादेश स्वीकृत गराउन सरकारले यो काम गरिरहेको आरोप लगाउनुभएको छ’ उनले भने । २१ औँ शताब्दीमा पनि सांसद किनबेच हुन्छ भनिनु आफैँमा गम्भीर विषय रहेको उनले बताए ।
‘अहिलेको २१ औँ शताब्दीमा, आधुनिक युगमा सांसद किनबेच भन्ने कुरा लाजमर्दो छ । सिङै संसद् अपमानित हुने यो विषयमा सम्माननीय सभामुखज्यू गम्भीर हुन जरुरी छ । सम्मानित संसद् अपमानित हुने गरी यो कुरा सम्प्रेषित भइराख्दा सरकारले यसबारे जवाफ दिन जरुरी छ’ उनले भने ।
जिम्मेवार सांसदले सांसद किनबेचमा रहेको भन्न मिल्ने कि नमिल्ने पनि उनको प्रश्न छ । ‘होइन भने एउटा जिम्मेवार सांसदले यस्तो भन्न मिल्छ कि मिल्दैन रु मिल्दैन भने यसमा कानुन लाग्छ कि लाग्दैन रु’ साहको प्रश्न छ ।