रोल्पा, २२ फागुन । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले दाङको घोराही(रोल्पा)रुकुम हुँदै डोल्पा जोड्ने शहीद मार्गको बजेटमा सरकारले कैंची चलाएकामा आपत्ति जनाएका छन् ।
गृह जिल्ला रोल्पाको होलेरीमा बुधबार आयोजित शहीद मार्ग सरोकार कोणसभामा बिहीबार बोल्दै पुनले सरकारले राजनीतिक पूर्वाग्रह र प्रतिशोध साँधेर शहीद मार्ग कालोपत्रेका लागि चालु आर्थिक वर्षमा विनियोजित बजेट कतौटी गरिएको बताए ।
दाङ(रोल्पा)पूर्वी रुकुम, पश्चिम रुकुम-डोल्पा हुँदै उत्तर छिमेकी चीनको सीमा क्षेत्रसम्म जोड्ने सडकको रकम कटौती गरेर सरकारले ती जिल्लाका जनतालाई हेपेको टिप्पणी पुनले गरे ।
‘संयोगले हाम्रो अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा म आफैं अर्थमन्त्री भएँ । बजेटमा नामै तोकेर शहीद मार्गको घोराही–होलेरी ३१ किलोमटर कालोपत्रेका लागि १ अर्ब २५ कोड विनियोजन गरेको थिएँ । संसदले पास गरेको थियो’, पुनले भने, ‘केपी ओली नेतृत्वमा काँग्रेस र एमाले सरकार बनेपछि टेण्डरको प्रक्रिया अगाडि बढाइएन । ६८ करोड रुपैयाँ रकमान्तर गरेर अन्यत्रै आयोजनामा सारिएको छ । विकासको काममा भएको यो प्रतिशोध र रानजीतिक पूर्वाग्रहप्रति म निन्दा गर्न चाहन्छु ।’
पुनले बजेट विनियोजन हुनुअघि आफूसहित जनपतिनिधिमाथि प्रश्न गर्ने काँगे्रस र एमाले नेताहरु आफ्नै सरकारले बजेट कटौती गर्दा एक शब्द नबोलेको भन्दै आपत्ति जनाए ।