स्याङ्जामा ‘सामाजिक नारी आवाज’ पुस्तिका विमोचन, महिला नेतृत्व र सशक्तिकरणको प्रतिविम्ब

२०८१ फाल्गुन २४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

क्रान्ति अर्याल
स्याङ्जा,२४ फागुन। ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्याङ्जामा विशेष कार्यक्रम गरिएको छ । सामाजिक विकास कार्यालय, स्याङ्जाले ‘सामाजिक नारी आवाज’ नामक पुस्तिका विमोचन गर्दै लैङ्गिक हिंसा अन्त्य, महिला सशक्तिकरण, र अधिकारको वकालत गरिरहेको छ ।

पुस्तिकामा स्याङ्जा जिल्लाका विभिन्न नेतृत्वदायी भूमिकामा रहेका महिलाहरूको विचार, अनुभव र प्रेरणादायी कथाहरू समेटिएका छन् । त्यस्तै विद्यालय तहका छात्राहरूले लेखेका ‘लैङ्गिक हिंसाको अन्त्य’ विषयक कविताहरू पनि समावेश रहेका छन् ।

विमोचन कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले महिला अधिकार प्रवर्द्धन गर्न यस्तो प्रकाशनले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै उपप्रमुख देवी अर्यालले महिला सशक्तिकरण, विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन र लैङ्गिक हिंसाविरुद्ध चेतनाको प्रसारमा यस पुस्तिकाले सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

उक्त कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले यस पुस्तिकाले सामाजिक तथा सांस्कृतिक जागरूकताको प्रतिनिधित्व गर्ने भन्दै लैङ्गिक समानताको पैरवी गर्ने माध्यम हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल, सरकारी वकिल श्रीकला पौडेल, जनप्रतिनिधि, महिला अधिकारकर्मी, प्रहरी र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

हरेक वर्ष मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवस यस वर्ष ‘सबै महिला तथा बालिकाका लागि: अधिकार, समानता र सशक्तिकरण’ भन्ने नारासहित मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय