नारी दिवसको अवसरमा गल्याङ नगरपालिकामा महिला कृषक उद्दमीलाई सम्मान

२०८१ फाल्गुन २४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल 

स्याङ्जा ,२४ फागुन । “सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता र सशक्तीकरण ” भन्ने नाराका साथ ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्याङ्जाको गल्याङ नगरपालिकाले विशेष कार्यक्रम आयोजना गरी महिला कृषकहरूलाई सम्मान गरेको छ । महिला सशक्तिकरण, आत्मनिर्भरता र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा नगरका ११ वटै वडाका उत्कृष्ट महिला कृषकहरूलाई सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रमको सुरुवात गल्याङ बजारको चिन्नेपानी देखि नगर सभाहलसम्म प्रभातफेरी बाट भएको थियो । प्रभातफेरीमा सहभागी महिलाहरूले ”महिला, आत्मनिर्भर समाज”, महिला उद्यमशीलतास् समृद्धि र विकासको आधारू जस्ता नारा लगाउँदै महिला अधिकार, समानता र सशक्तिकरणको पक्षमा आवाज उठाएका थिए ।

उक्त कार्यक्रममा अधिवक्ता सरिता तिमिल्सिनाले लैङ्गिक हिंसा, महिला सशक्तिकरण, कानुनी अधिकार र कृषि उद्यमशीलताको महत्वबारे प्रशिक्षण दिनुभएको थियो । उहाँले लैङ्गिक हिंसा अन्त्य गर्न कानुनी सजगता अत्यन्त आवश्यक रहेको र महिला कृषकहरूले आधुनिक प्रविधिमैत्री कृषि प्रणाली अपनाएर आत्मनिर्भर बन्ने प्रेरणा लिनु पर्नेमा जोड दिनुभयो ।

सभाहलमा आयोजित नारी दिवस विशेष कार्यक्रममा नगर प्रमुख गुरु प्रसाद भट्टराईले महिला कृषकहरूको योगदानको उच्च कदर गर्दै नगरपालिकाले आर्थिक र सामाजिक रूपमा महिलालाई अझ सशक्त बनाउन विभिन्न कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगरपालिकाका उपप्रमुख हेमा न्यौपानेले सम्मानित महिला कृषकहरूलाई बधाई दिँदै स्थानीय सरकार महिला उद्यमशीलताको प्रवर्द्धनमा निरन्तर लागिरहने बताउनुभयो ।
नगर उपप्रमुख हेमा न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगरपालिका कम्प्युटर अपरेटर साधना न्यौपानेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय