काठमाडौं,४ चैत । गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थीत बनाउन कानून बनाउन लागिएको जानकारी दिनुभएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका बिषयको जवाफ दिदै मन्त्री लेखकले हाल सरकारको निर्णयका आधारमा पूर्वविशिष्टलाई सेवा सुविधा दिइदै आएकोमा अव त्यसलाई व्यवस्थीत बनाउन कानून बनाउन लागिएको जानकारी दिनुभएको हो । सरकारले दिने सुविधानमा बैधानिक मापदण्ड नभएकाले कानून बनाउन खोजिएको उहाले बताउनुभयो । उहाले पूर्वविशिष्टलाई दिने सेवा सुविधा दिदा राज्यलाई अनावश्यक आर्थिक दायित्व नपरोस् भन्नेमा सरकार सचेत रहेको जिकिर गर्नुभयो ।
उहाले पूर्वविशिष्टलाई दिने सेवा सुविधासम्बन्धी कानून सदनमा प्रस्तुत हुने भएकाले सुविधा बढाउने वा घटाउने भन्ने बिषय सरकारको नभइ संसदको बिषय हुने बताउनुभयो । मन्त्रिपरिषदको २०८१ पुष ९ गतेको बैठकबाट पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकलाई प्रारम्भीक स्वीकृति प्राप्त भएपछि विधेयक तर्जुकाका लागि काम सुरु भइसकेको उहाले जानकारी दिनुभयो ।
त्यस्तै उहाले पाथिभरा केवलकारका बिषयमा देखिएका विवादका बारेमा सरकार गम्भीर रहेको भन्दै आन्दोलनकारीलाई पुनः वार्तामा बोलाइएको जानकारी दिनुभयो । आयोजनाको सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्था समेत मिलाएको उहाले बताउनुभयो । उहाले आन्दोलनकारी पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समूदायका समस्या समाधान गर्न सरकार तयार रहेको धारणा राख्नुभयो ।