क्रान्ति अर्याल
स्याङ्जा,४ चैत । गल्याङ नगरपालिकाले स्थानीय रूपमा उत्पादन हुँदै आएको मदिरालाई व्यवस्थित गर्दै यसको ब्रान्डिङ गर्ने अभियान सुरु गरेको छ । नगरप्रमुख गुरु प्रसाद भट्टराईको विशेष उपस्थितिमा मदिरा उत्पादकहरूका लागि विशेष प्रशिक्षण तथा छलफल कार्यक्रम गरिएको हो ।
नगरपालिकाले अव्यवस्थित रूपमा उत्पादन तथा विक्रि वितरण भइरहेको स्थानीय मदिरालाई गुणस्तरीय, स्वस्थ र शुद्ध बनाउनका लागि नीति निर्माण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो । उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख गुरुप्रसाद भट्टराईले स्थानीय उत्पादनलाई व्यवस्थित गर्दै गुणस्तर सुधार गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै स्थानीय मदिरालाई सुरक्षित, व्यवस्थित र कानुनी दायराभित्र ल्याउने बताउनुभयो । त्यस्तै यस अभियानले गल्याङको आर्थिक गतिविधिलाई टेवा दिने र स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्मार्ट सिटी विज्ञ विज्ञान घिमिरेले मदिरा उत्पादन, गुणस्तर सुधार र ब्रान्डिङबारे प्रशिक्षण दिनुभएको थियो । उक्त कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपाने, वडा अध्यक्षहरु साथै करिब ५० जना स्थानीय मदिरा उत्पादकहरूको उपस्थिति रहेको थियो । नगरपालिकाले आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिने योजना बनाएको छ ।