काठमाडौँ,६ चैत । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्तिप्रति क्षमा माग्नुभएकाे छ । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो अभिव्यक्तिले पर्न गएको नकारात्मक असरप्रति क्षमा माग्नुभएकाे हाे ।
उहाँले आफूले चैत ३ गतेको प्रतिनिधिसभा बैठकमा नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति दिनुभएकाे थियाे । उक्त अभिव्यक्तिप्रति बुधवारको बैठकमा घिमिरेले उक्त धारण पार्टी र संसदीय दलको आधिकारिक धारणा नभएको पनि बताउनुभयाे ।
‘यही चैत ३ गते विशेष समय मैले अभिव्यक्त गरेको धारणा संसद्को हैसियतले विशेष समयमा अभिव्यक्त गरेको धारणा यो धारण पार्टी र कांग्रेस संसदीय दलको आधिकारिक पनि धारणा होइन । यी विचारले संसद्का सदस्यहरू अन्य जनसमुदायमा समेत नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरूसँग क्षमा याचना गर्न चाहन्छु’, घिमिरेको भनाई छ ।