क्रान्ति अर्याल
स्याङ्जा,७ चैत । पुतलीबजार समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिने पुण्य तिथिको अवसरमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग हस्तान्तरण गर्नुभएको छ ।
पुतलीबजार नगरपालिका–१, चन्द्रनगर घुम्ती निवासी मल्लले आफ्नो निवासमा आयोजित कार्यक्रममा अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र–नेपाल स्याङ्जाका अध्यक्ष युवराज पराजुलीलाई दुई थान ह्वीलचेयर र एक जोर वैशाखी हस्तान्तरण गर्नुभएको हो ।
उहाँले अपांगता भएका व्यक्तिहरूको कठिन जीवन देखेर सहयोग गर्ने प्रेरणा मिलेको बताउँदै स्वर्गीय धर्मपत्नीको पुण्य स्मृतिमा सहयोग गरेको उल्लेख गर्नुभयो । त्यस्तै आगामी दिनहरूमा पनि यस्ता सहयोग कार्यक्रम जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्व जिल्ला सभापति चन्द्रमणी पौडेल, वरिष्ठ समाजसेवी खेमनारायण शर्मा, ह. कुल बहादुर पौडेल, संस्था सदस्य भविलाल विक, स्वयंसेवक सबिना पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष पराजुलीले सहयोग प्राप्त सामग्री आवश्यक अपांगता भएका व्यक्तिहरूलाई वितरण गरिने बताउँदै मल्ल परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार स्याङ्जा जिल्लामा कुल ६,७६० जना अपांगता भएका व्यक्ति रहेका छन् ।